२०८१ भाद्र २६
बुटवल।
यस क्षेत्रकै पुरानो व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रवारदेखि शुरु हुदैछ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूका अनुसार संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन शुक्रबारदेखि यहि असोज २२ गतेसम्म बुटवलमा हुन लागेको हो ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने साधारण सभा तथा अधिवेशनमा प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन कार्यसमिति बैठकबाट पारित भएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराए । साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा उत्कृष्ट उद्योगी व्यवसायीलाई सम्मान तथा संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।
साधारण सभा तथा अधिवेशनको लागि कार्यसमिति सदस्य संयोजक रहेका विभिन्न समिति गठन गरी तयारीका काम गरिएको थियो । ती समिति मातहत हुने तयारीका सबै काम पुरा भएको संघले जनाएको छ ।
अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । साधारण सभामा पेस गर्ने प्रस्ताव लेखनको लागि प्रतिक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणको लागि संजय कलवार जयसवाल, खना तथा जलपानमा निर्मित कसजू, स्वागत तथा व्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनको लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनको लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको थियो ।
त्यस्तैगरी संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकनको लागि संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो ।