२०८१ श्रावण १२

पत्रकार शर्मालाई ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २५, शनिबार ११:४४ गते

बुटवल २५ कात्तिक ।
पत्रकार टोपराज शर्मा पुरस्कृत भएका छन् । उनलाई तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । क्लवले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । २०६१ सालदेखि पत्रकारितामा क्रियाशिल उनी यसअघि विभिन्न पुरस्कारबाट सम्मानित भैसकेका छन् ।

शर्मालाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई जोगाएर पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।
पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट पुरस्कारलाई तिलोत्तमा मिडिया क्लवसँग सहकार्य गरेको भन्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई बिस्तार गर्ने योजना रहेको बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार अर्जुन ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पुरस्कारका बारेमा चर्चा गरेका थिए ।
पुरस्कृत पत्रकार टोपराज शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार थप गरी आफ्ना बुबा आमाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष बीपी गौतम, संस्थापक अध्यक्ष लक्ष्मण पौडेल, सचिव कल्पना तिवारीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।