२०८१ श्रावण १२

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० मंसिर ४, सोमबार १०:५४ गते

बुटवल ४ मंसिर ।
रुपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डकको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको अवस्थामा सवारी दुर्घटनामा परेका हुन्।

लु।४९प २२३० नम्बरको मोटरसाइकललाई ना।६ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तिलोत्तमा– १ का ५० वर्षीय माधवलाल देवकोटाको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा जानकीनगर बस्ने ४० वर्षीय यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक देवकोटा विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय थिए। यसै वीच तिलोत्तमा उद्योग वाणिज्य संघले शोक विज्ञप्ती जारी गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघका संस्थापक महासचिव तथा सल्लाहकार माधवलाल देवकोटाको तिलोत्तमा नगरपालिका वडा नं १ ड्राइभरटोलमा भएको सवारी दुर्घटनामा परि अकल्पनीय दुःखद् निधनले स्तब्ध भएको जनाएको छ ।
ड्राइभरटोलबाट मणिग्रामतर्फ जादैँ गरेका देवकोटालाई ना ६ ख ८१६१ नं.को ट्रकले पछाडीबाट ठक्कर दिएको संघले जनाएको छ ।
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष, सहकारी संघका केन्द्रिय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका संघका सल्लाहकार देवकोटा तथा संघका शुभेच्छुक क्षेत्रीको दुःखद् निधनले संघलाई अपुरणीय क्षती पुगेको अध्यक्ष गुणनिधि भण्डारी(माधव) द्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।
संघका सल्लाहकार देवकोटाले संघ तथा व्यवसायिक हकहितका लागि गरेको विशिष्ट योगदानको उच्च मूल्यांकन र सम्मान प्रकट गर्दै संघले तिलोत्तमा नगरपालिका वडा नं. ५, प्रदर्शनी मण्डपमा जारि राखेको मेलामा सोमबारका लागि तय गरेका सांस्कृतिक, सांङ्गितिक लगायतका सम्पूर्ण कार्यक्रमहरु १ दिनका लागि स्थगित गरेको जनाएको छ ।
सोमबार स्थगित गरिएका सम्पूर्ण कार्यक्रमहरु मंगलबार देखि नियमित सुचारु हुने समेत संघले जनाएको छ ।