२०८१ श्रावण १२

लुम्बिनी प्रदेशमा ४ महिनामा ८५ हजार ९ सय ६० सवारी कारबाहीमा, ६ करोड २९ लाख राजश्व संकलन
  • लुम्बिनी खोज
  • २०८० मंसिर १२, मंगलवार ०८:२६ गते

३६७ दुर्घटनामा ११५ जनाको ज्यान गयो, २७ चौपायाको पनि मृत्यु
बुटवल १२ मंसिर ।
लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको चार महिनामा ८५ हजार ९६० सवारीसाधन कारबाहीमा परेका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ६ करोड २९ लाख १७ हजार २ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर थापाले ओभरलोड, तीव्र गति तथा मादकपदार्थ सेवन गरी चलाएका सवारीसाधनहरू बढी कारबाहीमा परेको बताए।
उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ३६७ सवारी दुर्घटना हुँदा ११५ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी ३४७ जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइतेको संख्या २३४ रहेको छ। त्यस्तै, २७ पशु चौपायासमेत मरेका छन्।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही अगाडि रहेको छ। रुपन्देहीमा ९० सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका छन्। यहाँ ५ चौपाया दुर्घटनामा परी मरेका छ। धेरै दुर्घटना हुने अर्को जिल्लामा कपिलवस्तु रहेको छ। कपिलवस्तुमा ९० दुर्घटना हुँदा ११ व्यक्तिको मृत्यु भएको छ र १३ चौपाया मरेका छन्।

यसैगरी, दाङमा ६४ सवारी दुर्घटना हुँदा १९ जना, बाँकेमा ५३ सवारी दुर्घटनामा परी २२ जना र ६ चौपाया, नवलपरासी पश्चिममा ३७ सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ र एक चौपाया मरेको छ। यता, बर्दियामा २८ सवारी दुर्घटनामा ६ जना र पाल्पामा १४ सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन्।

चार महिनाको अवधिमा सवारी दुर्घटना कम हुने जिल्लामा गुल्मी रहेको छ। गुल्मीमा एक दुर्घटनामा एकजनाको ज्यान गएको छ। त्यस्तै, रुकुम पूर्वमा तीन दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन्। प्युठान र रोल्पामा ६–६ वटा दुर्घटना भएका छन्। प्युठानमा एक र रोल्पामा ६ जनाले ज्यान गुमाउँदा अर्घाखाँचीमा १२ वटा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ।

कुन जिल्लामा कति भयो राजस्व संकलन ?
लुम्बिनी प्रदेशमा ८५ हजार ९६० सवारी कारबाहीमा पर्दा ६ करोड २९ लाख १७ हजार २ रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा धेरै रुपन्देहीमा संकलन भएको छ। रुपन्देहीमा १९ हजार ४ सय २२ कारबाहीमा पर्दा १ करोड ७९ लाख १६ हजार राजस्व संकलन भएको छ।

यसैगरी, कपिलवस्तुमा १४ हजार २३२ कारबाहीमा पर्दा एक करोड ७ लाख ११ हजार ५ सय, नवलपरासी पश्चिममा १२ हजार ३ सय कारबाहीमा पर्दा ७६ लाख ६८ हजार ५ सय रुपैयाँ र बाँकेमा ८ हजार ८७२ कारबाहीमा पर्दा ६८ लाख १८ हजार संकलन भएको छ।

दाङमा ७ हजार ५ सय ८० कारबाही गरी ५१ लाख ८७ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। यता, पाल्पामा ५ हजार ७ सय ७९ सवारी कारबाहीबाट ३८ लाख ७७ हजार, बर्दियामा ६ हजार ६ सय ८ सवारी कारबाहीबाट ३८ लाख ६३ हजार राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार प्युठानमा ३ हजार ५ सय ५०, गुल्मीमा ३ हजार ५०, अर्घाखाँचीमा २ हजार ५०, रोल्पामा १ हजार ८ सय र रुकुम पूर्वमा ७ सय १७ सवारी कारबाहीमा परेका छन्। जसमा प्युठानमा २१ लाख १ हजार ५ सय, गुल्मीमा १८ लाख ६९ हजार ५ सय, अर्घाखाँचीमा १२ लाख १७ हजार ५ सय, रोल्पामा ११ लाख ९१ हजार ५ सय र रुकुम पूर्वमा ४ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

लुम्बिनीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८१ हजार ४५२ सवारीको कारबाहीबाट ५ करोड ४३ लाख ३ हजार राजस्व संकलन भएको थियो।
साढे ४ हजार ट्राफिक सचेतना कार्यक्रम
लुम्विनी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन सचेतना कार्यक्रमहरु पनि निरन्तर सञ्चालन गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार यो आर्थिक वर्षको ४ महिनाको अवधीमा ४ हजार ४ सय ५७ वटा कार्यक्रम गरिएका छन् । यस्ता कार्यक्रम अघिल्लो वर्षको सोही अवधीमा जम्मा ५ सय ६७ वटा भएका थिए । यी कार्यक्रमबाट यो वर्षको ४ महिनामा १ लाख ८७ हजार ४ सय ९७ जना लाभान्वित भएको दावी छ । अघिल्लो वर्ष सोही अवधीमा लाभान्वित हुनेको संख्या ३५ हजार १ सय ७० रहेको थियो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक होम वहादुर थापाले सचेतना कार्यक्रमहरु प्रभावकारी वन्दै गएको बताए । टाफिक नियमको पालना नगर्ने प्रवृति रहेका कारण सवारी दुर्घटना बढ्ने भन्दै नियम पालना गरेमा टाफिक ब्यवस्थापनमा धेरै सहज हुने बताउछन ।