२०८१ श्रावण १२

बुटवलमा लुम्बिनी एक्स्पो सुरु
  • लुम्बिनी खोज
  • २०८० पुष ५, बिहीबार १५:५५ गते

बुटवल,५ पुस ।
बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो(२०८० ९प्रदर्शनी मेला० सुरु भएको छ । एक्स्पोको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

रुपन्देही व्यापार संघको आयोजनामा भएको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले सरकार जिम्मेवारीबाट भाग्दा निर्माण पूरा भएका आयोजनाहरु सञ्चालन नभएको र निर्माणधिन आयोजना निकै सुस्त बनेको बताए ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताए । उनले विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने दाबी गरे । उनले विमानस्थलसँगै यस क्षेत्रमा उद्योग व्यापार पर्यटन जोडिएपनि सरकारको ध्यान नदिएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा सरकार मुख्य दोषी रहेको आरोप लगाए ।

पूर्व अर्थमन्त्री पौडेलले बुटवल नारायणगढ सडक निर्माणमा पनि चरम ढिलासुस्ती भएको बताए । उनले निर्माण कम्पनीले ढिला सुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बसेको आरोप लगाए । उनले बुटवल नारायणगढ सडकमा अब ढिलासुस्ती सह्य नहुने चेतावनी दिए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताए ।
कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी,  नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि लगायतले बोल्दै बुटवलको अर्थतन्त्रमा मेलाले महत्वपूर्ण सहयोग गर्ने विश्वास ब्यक्त गरे ।

पुस १८ गतेसम्म चल्ने मेलामा ६ सय बढि स्टल राखिएको छ । लुम्बिनी एक्सोमा करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोड कारोवार हुने आयोजकले बताएका छन।