२०८१ श्रावण १२

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
  • लुम्बिनी खोज
  • २०८० माघ ४, बिहीबार ११:४३ गते

बुटवल ४ माघ ।
बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए।उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताए। उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए।
उनले विद्यालयहरुलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन उनले आग्रह गरे।
उनले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताए। प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने बताए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन्। उनले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गरिन्।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने बताए। प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।
उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको सचिव प्रेम बस्नेतले बताए।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका जयप्रकाश भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै खेल क्षेत्रको विकासमा नगरले गरेको कार्यक्रम प्रभावशाली रहेको बताए।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ
प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्‍यालीको मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिए।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कालिका मानवज्ञान मा.वि.का खेल प्रशिक्षक साथै सांगितिक व्यायामका राष्ट्रिय अभियन्ता हरिश वलीले बुटवलमा स्वागत एवम् पिटी करिब ६०० विद्यार्थीहरुको सहभागितामा भएको थियो । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का नृत्य प्रशिक्षक अर्जुन शाहको र खेलकुद प्रशिक्षक नवराज खरेल, गणेश कुँवर तीर्थराज घिमिरे लगायतको सहभागितामा करिब ३०० विद्यार्थीहरुले बहुसाँस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै कराँते तेक्वाण्डो र स्काउटले समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कार्यक्रममा २१ वटा सामुदायिक र २१ वटा संस्थागत विद्यालय गरि ४२ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा छात्र ८८४ र छात्रा ५१२ गरि १३९६ विद्यार्थीहरुको खेलमा सहभागिता रहेको छ ।
बिहीवारको मार्चपासमा कालिका मानवज्ञान मा.वि. प्रथम, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वितीय, र न्यू होराइजन मा.वि. तृतीय भएका छन् भने नयाँ गाउँ मा.वि. सान्त्वना भएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली सेना २२ नम्बर बाहिनी पति सहायक रथी ललित बहादुर कुँवर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्याल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक हिमालय प्रसाद श्रेष्ठ, रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर वि.क. लगायतको सहभागिता रहेको थियो ।
माघ ४ गते देखि ६ गते सम्म सञ्चालन हुने खेलमा कालिकामानव ज्ञान मा.वि.ले ३ स्वर्ण र ४ रजत पदक प्राप्त गरेको छ । नवीन औद्योगिकले १ स्वर्ण १ कास्य, न्यू होराइजनले १ स्वर्ण २ कास्य, नवरत्नले १ स्वर्ण, गार्गीले १ स्वर्ण २ कास्य, एभरेष्टले १ स्वर्ण, मोतिपुरले २ रजत १ कास्य, नहरपुरले १ रजत, अक्सफोर्डले १ रजत १ कास्य र भवानीले १ कास्य पदक प्राप्त गरेको छ ।
पहिलो दिनमा भएको कबड्डीमा न्यू होराइजन, ज्ञानपुञ्ज, कान्ति, गार्गी, नवरत्न, नवीन र छात्र कवड्डीमा कान्तिले पहिलो चरणमा प्रवेश गरेका छन् । छात्र भलिवलमा नहरपुर, एभरेष्ट, नवीन, कान्ति उजीर सिंह, दीपले पहिलो चरणमा विजय प्राप्त गरेका छन् भने छात्रा भलिवलमा कान्ति, न्यूहोराइजन र कालिका मानवज्ञानले पहिलो चरण पार गरेका छन् ।

गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए।