२०८१ श्रावण १२

ज्योतिष रिजालको वार्षिकीमा विपन्न तथा दलित समुदायका विद्यार्थीलाई भोजन र पोशाक
  • लुम्बिनी खोज
  • २०८० माघ १४, आईतवार १४:३२ गते

अक्षयकोष र छात्रवृत्तिका लागि ५ लाख प्रदान

बुटवल १४ माघ ।
रूपन्देहीको तिलोत्तमा –८, चार नम्बरमा ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विपन्न तथा दलित समुदायका विद्यार्थीलाई भोजन र पोशाक प्रदान गर्नुका साथै दुइ विद्यालयलाई अक्षयकोष र छात्रवृत्तिका लागि ५ लाख प्रदान गरिएको छ ।
गंगाधरका परिवारका सदस्यहरुले प्रथम वार्षिकीका अवसरमा २ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, पुस्तक विमोचन, छात्रछात्रालाई भोजनदान एवम् पोशाक दान लगायतका कार्यक्रम गरेका हुन् ।
उनकै निवास एवम् गङ्गेश्वर धाममा आयोजित प्रथम वार्षिकीका अवसरमा स्थानीय ज्योति आधारभूत विद्यालयका कक्षा १ देखि ३ सम्मका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई भोजन गराइएको थियो ।
त्यसैगरी भोजन गराइएका ३६ जना विद्यार्थीलाई विद्यालय पोशाक समेत उपलब्ध गराइएको थियो भने सोही विद्यालयका लागि अक्षयकोष स्वरूप दुईलाख रूपियाँ विद्यालयका अध्यक्ष नवीनराज आचार्य र प्रधानाध्यापक दिलबहादुर थापालाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरका पुत्र पण्डित ईश्वरीप्रसाद रिजालले जानाकारी गराएका छन् ।
त्यस्तै शान्ति नमूना मा.वि. मणिग्रामका लागि तीन लाख रूपैयाँको छात्रवृत्ति रकम विद्यालयका अध्यक्ष शरद भट्टराई र प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरकी पत्नी रूक्मिणी रिजालले बताइन् ।
प्रथम वार्षिकीकै अवसरमा ज्योतिष शिरोमणि गङ्गाधरले तयार गरेका पाण्डुलिपिबाट साभार गरिएका जीवनी र सन्देशसहितको “ज्योतिष शिरोमणि गङ्गाधर रिजालः जीवनी र आदर्श” नामक पुस्तक समेत पितृतर्पणस्वरूप लोककल्याणको उपयोगमा आउनेगरी विमोचन गरिएको राममणि क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए । ज्योतिष शिरोमणि रिजालका पत्नीद्वय पार्वती र रूक्मिणी रिजालले संयुक्तरूपमा पुस्तक विमोचन गरेका थिए ।
गङ्गेश्वर धामद्वारा प्रकाशित नब्बे पृष्ठको सो पुस्तकमा ज्योतिष शिरोमणि रिजालले व्यतीत गरेका जीवनशैली, आम मानिसलाई शान्तिप्रिय जीवनयापनका लागि दिएका उपदेश, उनको जीवनका संघर्ष र सफलता, उच्चपदस्थ व्यक्तित्वलाई फलित भएका भविष्यवाणी, भ्रमण–तीर्थाटन, विविध समयका फोटो समाविष्ट छन् ।
ज्योतिष शिरोमणि रिजालको प्रथम वार्षिकी कार्यक्रममा पूर्व मन्त्री तथा सांसद, नगरप्रमुख, सरकारी तथा गैर सरकारी निकायका उच्च पदस्थ व्यक्ति, व्यवसायी, विद्यालयका व्यवस्थापन समतिका पदाधिकारी, प्रधानाध्यापक, विभिन्न स्थानका भक्तजन, स्थानीयबासी सहितका आमा समूह लगायतको उपस्थिति रहेको थियो ।