२०८१ श्रावण १२

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका विजेता
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ९, बुधबार ०६:१५ गते

काठमाडौँ, ९ फागुन ।
रूपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौथो पटक लगातार बुटवल उपमहानगरपालिका विजेता बन्न सफल भएको छ । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ फागुन ३,४ र ५ मा कन्चन गाउँपालिका वडा नम्बर ३ लालीगुराँस खेलमैदान (ध़मिरात ) मा सञ्चालन अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले २३ स्वर्ण पदक, १४ रजत पदक र १४ कास्य पदक सहित कुल ५१ पदक प्राप्त गरी विजेता बनेको छ । तिलोत्तमा नगरपालिका १५ स्वर्ण पदक, १६ रजत पदक र १२ कास्य गरी कुल ४३ पदक प्राप्त गरी उपविजेता बनेको हो । सिद्धार्थ नगरपालिका ६ स्वर्ण पदक, ५ रजत पदक र ६ कास्य गरी कुल १७ पदक प्राप्त गरी तृतीय भएको छ । रूपन्देही जिल्लाका १६ वटा पालिकाहरूमध्ये बुटवल उपमहानगरपालिकाले एथलेटिक्समा ६ वटा स्वर्ण, ९ वटा रजत, ४ वटा कास्य पदक गरी १९ पदक प्राप्त गरेको छ । छात्र र छात्रा भलिबलमा २ स्वर्ण, छात्र कवडीमा १ स्वर्ण, करातेमा ७ स्वर्ण, ५ कास्य गरी १२ र तेतेक्वान्डोमा ७ स्वर्ण, ५ रजत र ५ कास्य गरी १७ पदक प्राप्त गरेको हो । बुटवल उपमहानगरपालिकालाई विजेता बनाउनको लागि बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहेको छ । जसमा स्वर्ण पदकमध्ये सामुदायिकको १२ र संस्थागतको ११ गरी कुल २३ स्वर्ण पदक पाउनमा कालिका मानवज्ञान मा.वि. ७, न्यु होराइजन मा.वि. ६, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. ३, दीप बोर्डिङ स्कुल २, अन्नपूर्ण मा.वि. २, कान्ति मा.वि. १, लक्ष्मी मा.वि. १ र इडन मा.वि. १ रहेका छन् । बुटवललाई विजेता बनाउन ५६ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ । जसमा कालिका मानवज्ञान मा.वि.बाट छात्रा सटपुटमा र ज्याबलिन थ्रोमा दिव्यकला थारु, छात्र ज्याबलिन थ्रोमा रवि चौधरी, तेकान्डोमा प्रकाश खासु र रुपा बुढाथोकी, ४x१०० र ४x ४०० रिलेमा कृति पराजुली र प्रकृति घिमिरेको समूहले स्वर्ण पदक प्राप्त गरेको हो । न्यू होराइजनले समूह खेल छात्र भलिबलमा सूर्य वि.क. नेतृत्वको समूह, छात्रा भलिबलमा प्रतिभा चौधरीको समूह र छात्र कबडीमा सरोज अधिकारीको समूह, १५०० मिटर दौडमा निशान गुरुङ, करातेमा रोनिष्का न्यौपाने र प्राप्ति अधिकारी रहेका छन् । नवीन औद्योगिक कदर बहादुर रीता माविको तर्फबाट करातेमा राहुल चौधरी, सृष्टि गुरुङ र अञ्जली चौधरी, दीप वोर्डिङबाट करातेमा कमल गाहा र गम्बर बहादुर भण्डारी, अन्नपूर्ण मा.वि.बाट तेक्वान्डोमा रोशनी तामाङ र अञ्जली नेपाली कान्ति मा.वि.बाट तेक्वान्डोमा अनुष्का तामाङ, लक्ष्मी मा.वि.बाट तेक्वान्डोमा जेनिसा गुरुङ र इडन बोर्डिङ स्कुलबाट तेक्वान्डोमा कमल थापा रहेका छन् । बुटवल उपमहानगरपालिकाले चौधौ राष्ट्रपति रनिङ शिल्ड २०८० लाई प्रभावकारी बनाउन नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरुङको संयोजकत्वमा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्डो र करातेका प्रशिक्षक सहित विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाको पहिचान सहित परिचयपत्र तथा पोशाक व्यवस्था गरेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले फाल्गुन ३ गते खेलाडीहरूलाई बिदाई गरेका थिए । रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष जय बहादुर सुनारको अध्यक्षतामा रूपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य राधिका चौधरीको सञ्चालनमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले रूपन्देही जिल्लाको खेलकुदको विकासमा खेलाडी प्रोत्साहनका लागि कन्चन गाउँपालिकाले १४ औं राष्ट्रपति रनिङशील प्रतियोगिता सञ्चालन गर्न अगुवाई गरेको धारणा व्यक्त गरे। लुम्बिनी प्रदेश पौडी संघका अध्यक्ष खेलप्रेमी व्यक्तित्व रूपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले खेलबाट विद्यार्थीहरूमा आत्मियता बढ्ने र खेलाडी लाई रुचि जगाउनको लागि पालिकाहरुले फजुल खर्च गर्ने तर्फ नभई खेलाडी उत्पादन गर्ने तर्फ र एक विद्यालय एक खेल विद्यामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
उक्त अवसरमा तिलोतमा नगरपालिकाका वडा नं ६ का वडाध्यक्ष गणेश पाठक, कञ्चन गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नम्बर ३ का वडा अध्यक्ष केशर बहादुर खत्री, जिल्ला खेलकुद विकास समितिका सदस्य राम बहादुर थापा लगायतले धारणा राखेका थिए । उक्त अवसरमा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८० विजेता बुटवल उपमहानगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष पूर्व एन्फाका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, खेलकुद विकास समितिका सदस्य लालहरि पाण्डे, शेरजंग गुरुङ र सदस्य सचिव कोपिला ज्ञवालीलाई प्रमुख अतिथिले शिल्ड हस्तान्तरण गरेका थिए । सोही अवसरमा १५ औ रूपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको आतिथ्यताको झण्डा तिलोत्तमा नगरपालिका नगर शिक्षा अधिकारी उपसचिव गंगाराम आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक र कार्यपालिका सदस्य सुरेन्द्र श्रीलाई प्रमुख अतिथिले हस्तान्तरण गरेका थिए । रूपन्देहीका १६ वटा पालिकामध्ये ५ वटा पालिकाहरु लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका, कोटइमाई गाउँपालिका, रोहिणी गाउँपालिका र समरीमाई गाउँपालिकाले सहभागिता गराउन नसकेको नवीन औद्योगिक कदर बहादुररीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।