२०८१ श्रावण १२

दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १३, आईतवार १३:१६ गते

बुटवल १३ फागुन ।
आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । यसै क्रममा बुटवलमा पनि दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ।आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे।
उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन नहुने बताए। उनले बुटवलभित्रका बालबालिकालाई खोप लगाउनबाट नछुट्ने गरी अभियान सञ्चालन गर्न र व्यापक प्रचार प्रसार गर्नका लागि आग्रह गरे। उनले कतिपय ठाउँमा दादुराको महामारी देखिएको बताउँदै खोप लगाउनबाट एकजना बालबालिका पनि छुट्न नहुनेमा जोड दिए। उपप्रमुख सावित्रादेवी अर्यालले खोप लगाउनका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुले विशेष चासो दिएर खोपकेन्द्रसम्म ल्याउनका लागि आग्रह गरिन्।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलका करीब ५५ हजार बालबालिकालाई खोप लगाइनेछ। जसका लागि बुटवलका १९ वटा वडाका १ सय ६७ वटा खोप केन्द्र तोकिएका छन् भने ५० जना स्वास्थ्यकर्मी परिचालन भएका छन्।