२०८१ आश्विन ५

बैंकको ऋण तिर्न सहज बातावरण गराउन माग
  • लुम्बिनी खोज
  • २०८० चैत्र १०, शनिबार १४:१६ गते

बुटवल १० चैत ।
बैंक तथा वित्तिय सस्था पिडीत समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तिय सस्थाबाट लिएको ऋण तिर्न सहज वातावरण बनाउन माग गरेको छ । समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी ब्याजदर घटाएर एकरुपता कायम गर्नुपर्ने र ऋण तिर्ने अवधी बढाउनुपर्ने माग गरेको छ ।
विद्यमान आर्थिक संकटका कारण ऋणीहरुले बैंकलाई तोकिएको समयमा सावा र व्याज बुझाउन तिर्न नसकेको भन्दै उनीहरुले ब्याजदर घटाएर समायसिमा बढाउन माग गरेका छन् । समितिका पदाधिकारी तथा ऋणिहरुले आर्थिक मन्दी सकिएको मितिले ५ वर्षसम्मा कुनै पनि ऋणीको धितो लिलाम गर्न सूचना निकाल्न तथा धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न माग समेत गरेका छन् ।
राज्यले आर्थिक मन्दी समाप्त भयो भनेर घोषणा गर्नुपर्ने र त्यस पछि ५ वर्षको समय दिनुपर्ने माग उनीहरुको छ ।
बैंकको कर्जाको ब्याजदरमा भेदभाव भइरहेको भन्दै भेदभाव बन्द गरी ऋणीलाई एउटै व्याजदर कायम गर्न पनि माग गरिएको छ । समितिका अध्यक्ष दुर्गा पोख्रेलले आर्थिक संकटले व्यवसाय थला परेका कारण तोकिएको समयमा ऋण तिर्न सक्ने अवस्था नरहेको बताए । उनले ऋणीहरुको बैंकलाई तोकिएको समयमा सावा र व्याज तिर्न नसकेको अहिलेको अवस्थामा आर्थिक मन्दी सकिएको मितिले ५ वर्षसम्म कुनै पनि ऋणीको धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न माग गरे ।
वित्तीय संस्थाले ऋणीबाट तोकिएको मितिमा सावा व्याज नबुझाएमा बारम्बार तनाव दिने गरेको उनीहरुको गुनासो छ ।

कर्जा लगानीका बखत ऋणीसँग भएको सम्झोताको पालना नगरी आधारदर बढदा बिना सूचना व्याजदर वृद्धि गर्ने र आधारदर घट्दा व्याजदर नघटाउने कार्य तत्काल रोकेर ऋण सम्झौताका बखत कायम व्याजदर कुनै पनि अवस्थामा बढाउन नपाउने ब्यवस्था लागु गर्न पनि उनीहरुले माग गरेका छन् । दोहोरो अंकको चर्को व्याजदरका कारण ऋण प्रबाह हुन नसकी आर्थिक गतिविधि ठप्प जस्तो हुँदा अर्थतन्त्र सिथिल बनेको भन्दै उनीहरुले व्याजदर एक अंकमा झार्न माग गरेका छन् । कर्जाको सावा तथा ब्याज भुक्तानी ढिलाई भएको नाममा बैंकहरुले आफू खुसी लगाउदै आएको प्यनाल्टी तथा हर्जाना तुरुन्त खारेज गर्नुपर्ने माग पनि उनीहरुको छ ।