२०८२ माघ २८
बुटवल,१८ फागुन । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सहित ९ जना परिषद सदस्यहरुलाई कार्यालयमा पदभार तथा स्वागत कार्यक्रम गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो ।

नवनियुक्त कोषाध्यक्ष भट्टराई सहितका परिषद सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरे । पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम साथै तिलौराकोट, देवदह लगायत बुद्धसँग सम्वन्धीत स्थानको विकासमा लागी पर्ने बताए । त्यसको लागि सबैको सहयोग, सहकार्य जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन कोषाध्यक्ष र परिषद सदस्यहरुको नियुक्तिले उर्जा प्रदान गरेको बताए ।
सो अवसरमा सदस्य सचिव सानुराजा शाक्यले कोषको कोषाध्यक्ष र सदस्यहरु रिक्त हुँदा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताए ।
कोषका अधिकृत ज्ञानिन राईको सञ्चालनमा भएको स्वागत कार्यक्रममा सूचना अधिकारी राजन बस्नेत लगायतले धारणा राखेका थिए ।