२०८१ आश्विन ८

बुटवलमा कृषि मेलाको तयारी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २६, बिहीबार १७:०१ गते

बुटवल, २६ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा कृषि मेला गर्ने भएको छ । चैत १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको छ । विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको संघले जनाएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय, बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्य विकास निर्देशनालयको प्रवद्र्धनमा कृषि मेला गर्न लागिएको हो ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । ‘बजारमुखि कृषिको आधार, समुन्न्त नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।
मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले जिम्मेवारीमा रहेका कामलाई तिब्र रुपमा अगाडि बढाएको संघको कार्यसमिति सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले बताइन । उनका अनुसार ती समितिहरु मार्फत मेलालाई फलदायी रुपमा सम्पन्न गर्नको लागि पत्राचार, मूल व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, समन्वय, स्टल बुकिङ् तथा व्यवस्थापन, सौजन्य लगायतको काम भईरहेको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा ४५ स्टल राखिने छ । मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी तथा कृषि सम्बन्धि कार्यशाला गोष्ठि समेत गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव बिमलराज भट्टराईले बताए ।