२०८१ आश्विन ४

भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली खरिद गर्ने
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ३, सोमबार १०:१४ गते

काठमाण्डौं ३ भदौ ।
भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको हो ।
अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । अब नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ।
नेपालबाट हालसम्म जम्मा ६९० मेगावाट (१६ वटा परियोजनाबाट) निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत् निर्यात हुनेछ। भारतले थप २५१ मेगावाट लैजाने निर्णय स्वीकृत हुनुअगावै गत आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ।