२०८२ कार्तिक २८

बैकंको ब्याजदरमा पुनरावलोकन गर्न रुपन्देहीका उद्योगी व्यवसायिक संघसंस्थाहरुको अपिल
  • लुम्बिनी खोज
  • २०७८ चैत्र ७, सोमबार १७:०७ गते

बुटवल, ७ चैत्र ।
रुपन्देहीमा क्रियाशिल उद्योगी तथा व्यवासायीक संस्थाले बैकंको ब्याजदर अस्वभाविक रुपमा बढेको भन्दै पुनरावलोकनको माग गरेका छन ।
रुपन्देही उद्योग संघमा भएको संयुक्त छलफल पछि हालको विषम परिस्थितिबाट सिर्जित समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनका निम्ति संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुले लगानीमा बढाएको व्याजले उद्योग व्यवसाय क्षेत्र धराशाही हुने अवस्थामा पुगेको उल्लेख गर्दै मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय क्षेत्र हालैको बढ्दो ब्याजको मारबाट प्रभावित बन्दै गर्दा स्वदेशी लगानी, रोजगारी र उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिम बढेको जनाएको छ । संस्थाहरुले अस्वभाविक रुपमा बढेको बैंक व्याजदर पुनरावलोकनका निम्ति माग पनि गरेका छन् ।
त्यसैगरि विज्ञप्तिमा अप्रत्याशित रुपमा भइरहेको मुल्य बृद्धिले आम उपभोक्ताहरुको क्रय शक्ति शिथिल बन्दै गएको मात्र होइन जनजिवन नै आंतकित बन्दै गएको बताउदै राज्य तत्काल गम्भिर बनी मुल्यबृद्धिलाई नियन्त्रण गर्न नीतिगत पहल गर्न भनिएको छ ।
विज्ञप्तिमा बुटवल वजार क्षेत्रबाट ट्रान्सपोर्ट कम्पनीहरुलाई एकीकृत रुपमा सारिएपछि उद्योगी व्यवसायीहरुले नियमित ढुवानी कार्यमा झेल्नु परेका कठिनाईहरु सम्बन्धमा समेत संघसस्थाहरुको ध्यानाकर्षण भएको जनाउदै हाल उद्योगी व्यवसायीहरुले तिर्नु परेको चर्को भाडादर र असहजता सम्बन्धमा सम्बन्धित निकायहरुसँग छलफल अघि बढाई तत्कालै पहल गर्ने निर्णय गरिएको जनाइएको छ ।
छलफल कार्यक्रम रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, सचिव फर्सुराम पन्त, उद्योग संघका निर्वतमान अध्यक्ष बाबुराम वोहोरा, संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटो, प्रथम उपाध्यक्ष कृष्ण पराजुली, महासचिव हरि बहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।