२०८१ कार्तिक ७

पूर्वडिआइजी जोशीसग रुपन्देहीमा २ दिन बयान, भोलि पोखरा पठाइने
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ६, मंगलवार १४:१० गते

बुटवल ६ कात्तिक ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान रुपन्देहीमा सकिएको छ । उनीसग रुपन्देहीमा २ दिनसम्म बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा सोमबार र मंगलवार उनीसग बयान लिइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले यो चरणको बयान सकिएको बताए । अब थप अनुसन्धान गर्नुपर्ने अवस्था आएमा मात्रै थप बयान हुने उनले बताए । बयान सकिएकाले बुधवार जोसीलाई पोखरा पठाउने तयारी रुपन्देही प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रन्जित सिंह राठौरले जोसीलाई बुधवार दिउसो पोखरा पठाइने बताए । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई पोखराबाट सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न रुपन्देही ल्याइएको थियो ।
सहकारी पीडित गरे प्रदर्शन
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा मंगलवार भैरहवामा सहकारी पीडितहरुले विरोध प्रदर्शन गरेका थिए ।
सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले रकम फिर्ता माग गर्दै विरोध प्रर्दशन गरेका थिए । प्रहरीले सरकार वकिलको कार्यालय अगाडि विरोध गर्न नदिएपछि अदालत अगाडि पुगेर उनीहरुले विरोध प्रर्दशन गरेका थिए ।