२०८१ आश्विन ८

रुपन्देही सुपर लिगः उपाधिका लागि बुद्ध र मेलवर्नबीच प्रतिस्पर्धा हुने
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १०, बिहीबार १०:१९ गते

बुटवल,१० चैत ।

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुने पक्का भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बुद्धसँग लुम्बिनी खुकुरी पराजित भएसँगै नेटरनरेटका आधारमा मेलवर्न फाइनल पुगेको छ । अब उपाधिका लागि मेलवर्न र बुद्धबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
बिहीबारको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४६ रनको योगफल बनाएको थियो । उसका लागि धिरज शाहीले ११ र दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ७.५ ओभर बलिङ गर्दै २ मेर्डन राखेर १३ खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । यस्तै, विपिन खत्रीले ९ ओभरमा ४ मेर्डन राख्दै २० रन खर्चेर ४ विकेट लिए । जवाफी ब्याटिङ गरेको बुद्धले १०.१ ओभरमा ४ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रुपेश कुर्मीले नटआउट ११ र विपिन रावलले नटआउट १० रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहव आलमले २ तथा धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५–५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।