२०८१ मंसिर ९

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ७०९.८१ मिटर खनियो
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक २६, सोमबार ०७:१९ गते

बुटवल २६ कात्तिक ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल ७०९.८१ मिटर खनिएको छ । यस सडकखण्डमा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेकोमा उत्तरतर्फ ३१९.८५ र दक्षिणतर्फ ३८९.९७ गरी ७०९.८१ मिटर खनिएको हो । पछिल्ला दिनमा दैनिक सरदर सात मिटर मुख्य सुरुङ खन्ने काम भइरहेको छ ।
१५ कात्तिकसम्मको प्रगति विवरणमा सुरुङको भौतिक प्रगति २७.७३ प्रतिशत र वित्तीय प्रगति ३२.२५ प्रतिशत पुगेको छ ।
सुरुङभित्र केही समस्या आए अन्यत्रबाट निस्कन मिल्ने गरी यहाँ तीनवटा बाइपास पनि निर्माण भइरहेका छन् । एक सय ५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास असोजमा र एक सय ३० मिटर लम्बाइ भएको तेस्रो बाइपासको सुरुङ भदौमा ‘ब्रेक थ्रु’ भएको थियो ।
आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार २६ भदौमा तेस्रो र ४ असोजमा पहिलो बाइपासको मुख्य टनेल खनेर सकिएको हो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो ।
उनका अनुसार ब्रेक थ्रु हुन बाँकी रहेको दोस्रो बाइपासको लम्बाइ एक सय ६१ मिटर रहेको छ । यसमध्ये एक सय ४४.५ मिटर सुरुङ खनिसकिएको छ । मुख्य टनेल दोस्रो बाइपाससम्म नपुगेकाले दोस्रो बाइपासको ब्रेक थ्रु हुन समय लागेको ज्ञवालीले बताइन् ।
मुख्य टनेलको ब्रेक थ्रु १५ पुसभित्र सक्ने गरी निर्माण अघि बढाइएको उनले जानकारी दिइन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख चार हजार सात सय ३४ रुपैयाँमा ठेक्का लिएर परियोजना अघि बढाइरहेको छ ।