२०८१ पुष ८

बुटवल मेलामा अर्गानिक उत्पादनलाई प्राथमिकता
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १३, बिहीबार १५:२० गते

बुटवल १३ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ ।
कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिईएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराए ।
यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य बस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यवसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिबृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरण लगायत स्थानीय उत्पादन समावेश गरिने छ ।
त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सामुहिक कृषि सूचना केन्द्र रहनेछ । त्यसैगरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसंग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताए ।
१६ दिनसम्म चल्ने मेलामा कृषिसंग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिईनेछ । डेरीजन्य उत्पादनका विविधिकरण खिर, कुरौनीलगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराए । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा कृषि सहित सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटल समेत गरी करिव ५ सय स्टल सहभागि गराईने कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ् समितिका समन्वय कर्ता सुरज भट्टराईले जानकारी गराए ।