२०८२ कार्तिक २८

वनवाटिकामा टावर निर्माण, पूर्वप्रधानमन्त्री ओलीद्धारा उद्घाटन
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १५, मंगलवार ०९:४५ गते

बुटवल  ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । टावरको मंगलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । टावरमा होटल, रेष्टुरेन्ट, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा समेत उपलब्ध हुनेछ । टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ । एघार तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गरेका थिए । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको छ । टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना समेत निर्माण हुनेछन् । लिफ्ट सुविधा सहित बनेको टावरसँगै दुई विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम भइरहेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिँदै छ । त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको नगरपालिकाका इञ्जिनियर प्रदीप वनले बताए । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने जनाइएको छ ।

टावरको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने उल्लेख गर्दै भान्सालाई औषधालयको रुपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उपलब्ध स्रोत साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवद्र्धन गर्न सकिने पूर्वप्रधानमन्त्री ओलीको भनाइ छ । नगर प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन । पूर्वउपप्रधानमन्त्री एवं संघीय सांसद विष्णुप्रसाद पौडेल, राष्ट्रियसभाका सदस्य गोपाल भट्टराई, लुमिवनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीलगायत प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको अवसरमा तिलोत्तमा दर्पण नामक पुस्तक, डकुमेन्ट्री, गीतको विमोचन समेत गरिएको थियो ।