स्थानिय निर्वाचन तयारीका क्रममा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका दलहरुले सोमवार विभिन्न निर्णय गरेका छन । गठबन्धन दलहरूले प्रदेशमा अनुगमन कार्यदल गठन गर्नुका साथै गठबन्धन भन्दा बाहिरका दलहरूसँग तालमेल नगर्ने निर्णय समेत गरेका छन । गठबन्धनको प्रदेश तहको बैठकले गठबन्धन बाहिरका अन्य दलसग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने निर्णय गरेको छ । बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले चुनाबी गठबन्धनका दलको प्रतिनिधित्व हुनेगरी संयुक्त चुनाब प्रसार संयन्त्र बनाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ। चुनाबको अनुगमनका लागि बैठकले संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको छ ।
जसमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोईराला, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन । कांग्रेसका प्रदेश सभापति अमरसिह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्री आलम बैठकमा सहभागी थिए । बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई सकेको निष्कर्ष निकालेको छ । “यस कारण आन्दोलनको उपलब्धि रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता त बढ्दै गइहेको छ, आजको बैठकमा परिवर्तनका उपलब्धि र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै मिति २०७८ साल चैत्र २८ गते लुम्बिनी प्रदेश स्तरीय तपशील बमोजिमका चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरियो“–बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।