२०८२ जेष्ठ ६

शुभलक्ष्मी अटो लिङ्क विरुद्ध राजश्व छलीमा मुद्दा दायर
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ ३, शुक्रबार १४:४५ गते

बुटवल २ जेठ ।
राजश्व अनुसन्धान कार्यालय बुटवलले शुभलक्ष्मी अटो लिङ्क विरुद्ध राजश्व छलीमा मुद्दा दायर गरेको छ ।
बुटवलमा सवारी साधनका सामना (अटो पार्टस्को) कारोबार गर्ने अटो लिंक र दुई व्यवसायीविरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर भएको हो ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख एवं प्रमुख राजस्व अधिकृत विवेक घिमिरेका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४, नयाँमिलका दधिराम खरेलविरुद्ध राजस्व चुहावटको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान गर्दा शुभलक्ष्मी अटो लिङ्क प्रालिबाट राजश्व चुहावट भएको देखिएकाले मुद्दा दर्ता गरेको जनाइएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूले गाडीका महँगा पार्टस् राजस्व छली गरेर ल्याउने र बिक्रीवितरण गर्ने गरेको विभागको भनाइ छ । शुभलक्ष्मी अटो लिङ्क लाई बिगो बराबर जरिवानासहित एक करोड ४४ लाख २२ हजार ६०० मात्र असुलउपरको मागदाबी गरिएको छ ।
शुभलक्ष्मी अटो लिङ्क प्रालिको वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन तथा अनुसन्धान गर्दा राजस्व चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहितको बिगो ७२ लाख ११ हजार ३०० कायम गरिएको छ । सो बिगो असुलउपर गरी बिगो बराबर जरिवानासहित एक करोड ४४ लाख २२ हजार ६०० मात्र असुलउपर गरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको विभागले जनाएको छ ।