२०८२ जेष्ठ ९
बुटवल ७ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महिनामा ४६.४६ प्रतिशत बजेट खर्च गरेको छ । यहाँ वैशाख मसान्तसम्ममा पुँजीगततर्फ जम्मा ४५.५० प्रतिशत बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनीका अनुसार प्रतिशतका हिसाबले धेरै खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ, रकमका हिसाबले भौतक पूर्वाधार मन्त्रालयको धेरै खर्च भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च ४४.२२ र स्वास्थ्य मन्त्रालयको पुँजीगततर्फर ८०.७४ प्रतिशत खर्च रहेको छ । वैशाख मसान्तसम्म भौतिकले चार अर्ब ४३ करोड ७६ लाख २० हजार ६३९ रुपैयाँ खर्च गरेको छ । यस अवधिमा स्वास्थ्यले दुई अर्ब सात करोड ८८ लाख ७१ हजार ८३१ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च ४४.४१ प्रतिशत रहेको छ । यस मन्त्रालयले एक अर्ब ३३ करोड ७२ लाख २६ हजार १९६ रुपैयाँ खर्च गरेको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको ४६.५८ प्रतिशत पुँजीगत खर्च रहेको छ । यस मन्त्रालयले दुई अर्ब ३९ करोड ९१ लाख ३० हजार ५१३ रुपैयाँ खर्च रहेको छ । त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ४८.२७ प्रतिशत पुँजीगत खर्च गरेको छ । चार करोड ६९ लाख १६ हजार ४५६ रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्ष सुरु हुँदा कायम रहेका मन्त्रालयमध्ये केही मन्त्रालय गाभ्ने काम भएको थियो । मन्त्रालय गाभिए पनि खर्चको विवरण भने साउनमा कायम मन्त्रालयकै नाममा देखिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च ५.४१ प्रतिशत अर्थात् ६ लाख २२ हजार ६६३ रहेको छ । त्यस्तै, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च १७.९४ प्रतिशत अर्थात् तीन करोड १८ लाख २२ हजार ४३२ रहेको छ ।
गत कात्तिक ४ गते मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको थियो । यहाँ सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३८ करोड ९३ लाख ९५ हजार ८२७ अर्थात् ३४.७१ प्रतिशत रहेको छ ।
आर्थिक मामिला मन्त्रालयको २५ लाख ४८ हजार २०२ अर्थात् ५०.९६ प्रतिशत पुँजीगत खर्च रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुँजीगत खर्च ४५ लाख ३७ हजार १२७ अर्थात् ११.५७ प्रतिशत रहेको छ ।
यहाँ चालूतर्फ यो अवधिमा ४८.११ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट रहेको छ । यहाँ पुँजीगत र चालू गरी वैशाख मसान्तसम्म ४६.४६ प्रतिशत बजेट खर्च भएको छ । यहाँ पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा ११ अर्ब १८ करोड ५९ लाख ११ हजार २३ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, चालूतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ९१ करोड ९७ लाख ९१ हजार २११ रुपैयाँ खर्च भएको छ ।