२०८२ असार १३

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १९, सोमबार १४:११ गते

बुटवल १९ जेठ ।
यातायात व्यवसायीको आन्दोलनपछि उनीहरुको माग सम्बोधनका लागि वार्ता गर्न सरकारले कार्यदल गठन गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा सरकारी र व्यवसायी प्रतिनिधिहरु रहेका छन ।
सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह समेत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन ।

त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् । त्यसैगरी बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको सन्दर्भमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयले जनाएको छ ।छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताए । उनले प्रदेश सरकारसित पनि कतिपय विषय जोडिएको सन्दर्भमा प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।

गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।