२०८२ जेष्ठ २३

मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १९, सोमबार १५:०१ गते

बुटवल, १९ जेठ ।
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ ।
जसको कारण भोलि अर्थात मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन नचल्ने भएका छन । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिएका छन ।

उनका अनुसार वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने नसकिएको बताएका छन । उनको भनाइ अनुसार भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन । मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आज भएको वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफूहरू पनि तत्काल आन्दोलन स्थगित गर्न तयार रहेको बताएका थिए । । तर वार्ताबाट कुनै निष्कर्ष ननिस्किएकाले भोलि बिहान पुनः बैठक बस्ने बताइएको छ । यता सरकार पक्षबाट यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि आजको छलफल सकारात्मक भएको
प्रतिक्रिया दिए । तर, निर्णयमा पुग्न नसकिएकाले भोलि फेरि बस्ने गरी छलफल स्थगित भएको उनले जानकारी दिए ।