२०८२ जेष्ठ २७
बुटवल २६ जेठ ।
बुटवल उद्योग वाणिज्य संघ बुटवलमा विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरिएको छ । तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने बताइन् ।
त्यसै अवसरमा संघमा स्थापना गरिएको उद्योग सम्वद्र्धन केन्द्रको उद्घाटन गरिएको छ । संघले उद्यमशिलता विकासका लागि २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले बुटवल उपमहानगरपालिका मार्फत बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गरेको हो । एक महिनासम्म सञ्चालन गरिने यो तालिममा २० जना नव उद्यमी सहभागि रहेको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए । उनका अनुसार कार्यक्रममा सहभागि उद्यमीहरुले आफूले उत्पादन गरेका सामग्री प्रदर्शन गरेका छन् ।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि २ पटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताए । उनले सरकारी तहबाट प्राप्त भएको साथ र सहयोगले उद्यमशिलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले विगतमा विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दा प्राप्त भएको प्रतिफलकै कारण सरकारी तहबाट यो प्रकारको सहयोग प्राप्त भएको बताउँदै विगतका सिकाई र अनुभवले अव सञ्चालन गर्ने कार्यक्रम अझै राम्रो र प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।
लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डाक्टर ताराप्रसाद उपाध्यायले उद्यमशिलता विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पसमा पनि विजनेश इन्कुवेशन सेन्टर स्थापना गरिएको जानकारी गराउँदै समयसमयमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।