२०८२ असार १६

लुम्बिनीमा धान दिवसः २३ दशमलव ९ प्रतिशत क्षेत्रमा रोपाइँ
  • लुम्बिनी खोज
  • २०८२ असार १५, आईतवार १०:०१ गते

बुटवल १५ असार ।
लुम्बिनी प्रदेश सरकारले २२ औं राष्ट्रिय धान दिवस भव्य रूपमा मनाएको छ । लमही नगरपालिका २ स्थित केरुनियामा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हरित क्रान्ति कृषि सहकारी संस्थाको सहकार्यमा धान दिवसको आयोजना गरेको हो । धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता मुख्य नारा सहित धान दिवस मनाइएको छ ।
उक्त अवसरमा प्रदेशका कृषि मन्त्री दिनेश पन्थिले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिए । सो अभियानको सुरुवात प्रदेशको रुकुम पूर्वबाट गरिएको उनले बताए । प्रमुख सचिव बावुराम अधिकारीले बीउ र रासायनिक मलमा निर्भरता घटाई रैथाने बालीको संरक्षण र प्राङ्गारिक मल उत्पादनलाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग गहिरो रूपमा जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताए। कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षहरूमा धान उत्पादनमा बृद्धि हुँदै गएको बताए ।


लुम्बिनी प्रदेशमा कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सक्ने भए पनि हालसम्म ७२ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३.९४ प्रतिशत हो । प्रदेशमा कुल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ ।
प्रदेशका जिल्लाहरूमा रोपाइँको स्थिति फरक–फरक देखिएको छ । सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा ५ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन् जसले क्रमशः २१.८२ प्रतिशत र २१.०६ प्रतिशत धान क्षेत्रफल ओगटेका छन् । सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुम पूर्व रहेको छ जसले १.४६ प्रतिशत हिस्सा ओगटेको छ ।
कपिलवस्तुमा कुल ६५ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म ४ हजार ६ सय ११ हेक्टरमा रोपाइ भएको छ । दाङमा ३७ हजार २ सय २५ हेक्टरमध्ये ६ हजार ३ सय २८ हेक्टरमा धान रोपाइ भएको छ । बर्दियामा ५० हजार १ सय ५० हेक्टर मध्ये १३ हजार ७ सय १४ हेक्टरमा धान रोपाइ भएको छ ।
बाँकेमा ३४ हजार ७ सय ११ हेक्टरमध्ये ३ हजार ८ सय १८ हेक्टरमा मात्रै धान रोपाइ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा जस्ता पहाडी जिल्लाहरूमा पनि न्यून रोपाइँ भएको छ । गत बर्ष लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।
धान उत्पादन वृद्धिको लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
प्रदेशमा हाल शावित्री, सामा मसुली, हर्दिनाथ ६, राधा ४, सुख्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जातहरूको रोपाइँ भइरहे पनि तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातहरूको प्रयोग पनि बढ्दो छ ।
यसैगरी, प्रदेशमा धान खेतीले कुल खाद्यान्न उत्पादनमा ५६.१५ प्रतिशत र कुल उपभोग्य खाद्यान्नमा ४३.८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्यांकले देखाएको छ ।