२०८२ असार १९

रुपन्देहीको डिङ्गरनगर दूरगामी सहकारीमा ताला, १६ करोड हिनामिनाको आशंका
  • लुम्बिनी खोज
  • २०८२ असार १८, बुधबार १५:५२ गते

बुटवल १८ असार ।
रुपन्देहीको तिलोत्तमा स्थीत डिङ्गरनगर दूरगामी सहकारीमा तालाबन्दी गरिएको छ।
सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएपछि बचतकर्ताहरूले बचत फिर्ताको माग गरेका छन्। बचत अपचलन भएका विषयमा अध्ययन भइरहेको अवस्थामा सहकारीका अध्यक्ष, सचिव र ब्यवस्थापक सम्पर्क विहिन भएका छन् । अनियमितता तथा वचत फिर्ताका विषयमा भएको छलफल र निर्णयको माइन्यूट नै च्यातिएको अवस्थामा पाइएपछि बुधवार कार्यालयका कागजात सुरक्षित गर्न वडा कार्यालय तथा प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा ताला लगाइएको छ ।
सहकारीमा अनियमितताको आशंकापछि सहकारीका सल्लाहकार बेल प्रसाद शर्माको नेतृत्वमा छानबिन भइरहेका बेला माइन्युट च्यात्ने तथा अध्यक्ष , सचिव र व्यवस्थापक फरार भएका छन् ।
उच्च तहको स्वतन्त्र लेखापरिक्षक ल्याएर आन्तरिक रुपमा अध्ययन जारी रहेको अवस्थामा अहिले कति अपचलन भएको छ भन्न नसकिने उनले बताए । तर करिव १६ करोड अपचलनको आशंका गरिएको शर्माले बताए ।
यस सहकारीमा १८ सय सदस्य रहेका छन् । ३४ करोड निक्षेप संकलन रहेको यस सहकारीमा २८ करोड लगानीमा रहेको र साढे ४ करोड नगद मौज्दात रहेको शर्माले बताए । सहकारीको १० देखि १२ करोड मुल्य पर्ने जग्गा रहेको साथै दुधसग सम्वन्धित उपकरण पनि रहेको उनले बताए ।
तिलोत्तमा वडा नं। ३ का अध्यक्ष कल्याण पौडेलले बचतकर्तालाई रकम अपचलन भएको थाहा पाएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिने प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा तालाबन्दी गरिएको बताए ।
उजुरी लिएर दाङ पुगे पीडित
सहकारीमा अनियमितता भएको पाइएपछि सल्लाहकार शर्मासहितको टोलि बुधवार नै लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङमा पुग्यो । कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यलाई भेट गरेर रकम अपचलन बारे अनुसन्धान गर्न आग्रह गरेको छ । आचार्यले सहकारीको अनियमितताबारेमा टोलि आएको र अनुसन्धानको प्रक्रियाका बारेमा छलफल भएको बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले सहकारीको बचत अपचलन भएकोबारे जानकारी आएको र बचत अपचलनको गुनासो लिएर प्रहरीको सम्पर्कमा आउनेहरूलाई प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा जान सुझाव दिने गरेको बताए । शुरुमा हेर्ने निकाय सहकारी दर्ता अधिकारीको कार्यालयरहेको भन्दै उनले त्यहाबाट पत्र आएमा प्रहरीले अनुसन्धान गर्ने बताए ।