२०८२ असार २२
बुटवल २० असार ।
नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो ।
त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिईएको छ । कार्यक्रममा नवलपरासी उवासंघको टोलीलाई स्वागत गर्दै बुटवल उवासंघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बुटवलको औद्योगिक तथा व्यवसायिक विकासमा बुटवल उवासंघको उल्लेखनीय योगदान गरेको बताए । उनले संघले अघि सारेको अवधारणा अनुसार मोतिपुर औद्योगिक क्षेत्र अगाडि बढेको जानकारी गराउँदै मोतिपुर औद्योगिक क्षेत्र निर्माण पश्चात यस क्षेत्रको औद्योगिक विकास र उद्यमशिलता विकासले तिब्र गति लिने विश्वास व्यक्त गरे । नवलपरासीमा कोही लगानी गर्न चाहेमा सहजिकरण गरिदिने पनि उनले बताए ।
त्यस अवसरमा नवलपरासी उवासंघले बुटवलका उद्योगी व्यवसायीलाई परासीमा आएर उद्योग व्यवसायीमा लगानी गर्न निम्ता दिएको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बुटवल तथा आसपासका लगानीकर्ता उद्योगी व्यवसायीलाई परासीमा आएर उद्योग व्यवसाय गर्न आग्रह गरे ।
उनले उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई नवलपरासी उवासंघले स्वागत सहित सहजिकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपालकै मध्येभागमा रहेको परासीमा बुटवलमा भन्दा तुलनात्मक रुपमा धेरै सस्तोमा जग्गा प्राप्त हुने र रामग्राम सहित अन्य पर्यटकीय गन्तव्य पनि भएकाले पर्यटन उद्योगको समेत सम्भावना औंल्याउँदै उनले लगानीका लागि निम्तो दिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले औद्योगिक विकासमा भईरहेको अवरोध चिर्नेगरी व्यवसायिक संस्थाहरुले काम गर्नुपर्ने बताए । त्यस अवसरमा व्यवसायीका समस्याहरुको बारेमा छलफल भएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।
कार्यक्रममा बुटवल उवासंघका कार्यकारी निर्देशक मदनकुमार काकी र नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सचिव रामशंकर कुर्मीले संघको स्थापना र त्यसयता संघबाट भएगरेका काम, विधानमा भएका व्यवस्था, संघमा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संघका पदाधिकारीहरु वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल सहित कार्यसमिति सदस्यहरु र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सहभागि थिए ।