२०८२ माघ २७

हिंसा र असमानता विरुद्ध पत्रकार महिलाहरुले लेख्नुपर्छः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १०, शनिबार १६:५७ गते

पत्रकार महिलाहरुलाई लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिम
बुटवल ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सुझाब दिनुभएको छ । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दुषित बनाएको बताउदै उनले यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने सुझाब दिए ।
संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको पत्रकार महिलाहरुका लागि लैंगिकमैत्री समाचार संप्रेषण सम्बन्धी तालिमको अवसरमा आयोजना गरेको आम सञ्चार र पत्रकार महिलाको क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन । उनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनु गौरवको विषय भएको बताए । उनले पेशामा स्थापित हुन पत्रकार महिलाहरुले पनि सीप र क्षमता बढाउदै जानु पर्ने सुझाब दिए । पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले समेत लगानी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन । संचारमाध्ययममा महिला भएभने मात्रै आवाजविहीनहरुको आवाज उठाउन र महिलाहरुका आवाज बुलन्द पार्न सजिलो हुने उनले बताइन । उनले संविधान अनुसार शाशनसत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिलामैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरिन । कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले यो वा त्यो ढंगमा पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन । उनले पत्रकारदेखि सामाजिक अभियन्ता र नेतासम्म जो सुकै भएपनि महिलाहरुलाई महिला भएकै कारण समस्या आउने बताउदै यस्ता समस्या विरुद्ध डटेर सामना गर्न र खुलेर समाचार लेख्न आग्रह गरिन ।
कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले ल्याएका लैंगिकमैत्री नीति तथा कार्यक्रमबारे जानकारी गराए ।
तालिम सहजीकरण गर्दै वरीष्ठ पत्रकार संचारिका समुह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले लैंगिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यवसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा सहजीकरण गरिन ।


पत्रकार इन्दिरा अर्यालले रेडियोमा लैंगिकताको विषय र त्यसको उठानबारे सहजीकरण गरिन । स्वास्थ्य निर्देशनालयका फोकल पसर्न कौशलराज भण्डारीले प्रजजन स्वाथ्य, परिवार योजना र सुरक्षीत मातृत्वबारेमा सहजीकरण गरेका थिए ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रदेश सरकार, तिनका संरचना र कार्यक्रमबारे कसरी समाचार बनाउन सकिन्छ भन्नेबारेमा सहजीकरण गरेका थिए । उनले प्रदेश स्थापनादेखि ४ वर्ष बित्दासम्म धेरै काम गरेपनि तिनलाई संचारमाध्ययममा ल्याउन नसकिएको बताउदै अब पत्रकार महिलाले पनि कलम चलाउनुपर्ने बताए । संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराएकी थिइन ।


तालिममा लुम्बिनी प्रदेशको साविक लुम्बिनी अन्चलका ६ जिल्लाका ६ जिल्लाका ५ दर्जन बढी पत्रकार महिलाहरु सहभागी भए । २ दिनसम्म संचालन भएको तालिममा विभिन्न विषयविज्ञहरुले सहजीकरण गरिरहेका छन् ।