२०८२ श्रावण ७
एक वर्षमा ३,४७९ सवारी दुर्घटना, ५०६ जनाको मृत्यु
बुटवल ।
लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षमा तीन हजार ४७९ सवारी दुर्घटनामा परी ५०६ जनाले ज्यान गुमाएका छन्। यी दुर्घटनामा परी पाँच हजार ६९१ जना घाइते भएका छन्। सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा ८०२ र बाँकेमा ५७७ भएका छन्।
आर्थिक वर्ष २०८१र०८२ को तथ्यांकअनुसार सवारी नियम उल्लंघन गर्नेमा पनि बाँके र रुपन्देही अगाडि छन्। सवारी दुर्घटना, मृत्यु र घाइतेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा पनि बढ्दो रहेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०८०र८१ मा १,१२० सवारी दुर्घटना भएका थिए। त्यस्तै, ४९६ जनाले ज्यान गुमाउँदा १,६९३ जना घाइते भए।
प्रदेशका १२ जिल्लामध्ये दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या रुपन्देहीमा धेरै छ। यहाँ आर्थिक वर्ष ०८०र८१ मा १०७ जनाले ज्यान गुमाएकोमा ०८१र८२ मा सो संख्या बढेको छ। गत आर्थिक वर्षमा १२१ जनाको ज्यान गएको छ। जिल्लामा भएका सवारी दुर्घटनामा सबैभन्दा कम ज्यान गुमाउने जिल्लामा रुकुम पूर्व रहेको छ। यहाँ आर्थिक वर्ष ०८०र८१ मा एक जनाले र ०८१र८२ मा तीनजनाले ज्यान गुमाएका छन्।
एक लाख ७० हजार कारबाहीमा
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार आर्थिक वर्ष ०८१र८२ मा सवारी नियम उल्लंघनविरुद्धको कारबाहीमा एक लाख ७० हजार ८० सवारी कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारीसाधनबाट १७ करोड ८३ लाख ८३ हजार ४१९ रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा धेरै सवारी बाँकेमा कारबाहीमा परेका छन्। बाँकेमा एक वर्षमा ३७ हजार ४३५ सवारी कारबाहीमा पर्दा रुपन्देहीमा ३६ हजार ४७९ कारबाहीमा परेका छन्।
यसैगरी, गत आर्थिक वर्षमा मापसे गरी सवारी चलाउनेहरू पनि लुम्बिनी प्रदेशमा धेरै कारबाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक शर्माले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा मापसे गरी चलाइएका ६ हजार ५६६ सवारीसाधन कारबाहीमा परेका छन्। यी सवारीसाधनबाट ३३ लाख ७५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, स्वरूप परिवर्तन गरी चलाइएका मोटरसाइकल पनि प्रहरीको कारबाहीमा परेका छन्। यहाँ आर्थिक वर्ष ०८०र८१ मा ६७ वटा कारबाहीमा परेकोमा ०८१र८२ मा २१९ वटा कारबाहीमा परेका छन्। यी कारबाहीबाट २० लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
ओभरलोडका ४२ हजार ७७३ सवारी कारबाहीमा
लुम्बिनी प्रदेशमा ओभरलोड नियन्त्रण गर्ने क्रममा प्रहरीले ४२ हजार ७७३ सवारीसाधनलाई कारबाही गरेको छ। यी सवारी कारबाहीबाट ६ करोड ३८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, स्थानीय तहमा दर्ता नभएका ई–रिक्सा तथा टेम्पोहरू पनि कारबाहीमा परेका छन्। २४९ वटा यस्ता सवारीसाधनलाई नगरपालिकामा पठाई नगरपालिकामार्फत १४ लाख ६८ हजार राजस्व संकलन भएको छ।
दुर्घटना न्यूनिकरण गर्न १५५१७ सचेतना कार्यक्रम
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार लुम्बिनी प्रदेशमा प्रहरीले दुर्घटना न्यूनिकरण गर्न ठाउ ठाउमा जनचेतना मुलक कार्यक्रम गरिएकोे छ । गत आथिक वर्षमा १५ हजार ५ सय १७ वटा सचेतना मुलक कार्यक्रम गरिएको छ । ती कार्यक्रममा ८ लाख ३५ हजार ७ सय ८९ जना लाभान्वित भएको तंथ्याक प्रहरीसग रहेको छ ।
बढी दुर्घटना २ पाङग्रे सवारी साधनबाट हुने गरेको पाइएको प्रहरीको भनाइ छ । दुर्घटना न्यूनिकरणका लागि सडकमै सचेतना मूलक कार्यक्रम गर्दै आइएको छ । त्यस्तै यातायात ब्यवसायीहरुसगको समन्वयमा चालक परिचालकहरुलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण पनि दिदै आइएको प्रनाउ न्यौपानेले बताए ।