२०८२ श्रावण १३

सामाजिक सुरक्षा कोषका बारेमा ब्यवसायीलाई अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८२ श्रावण १२, सोमबार १४:२४ गते

बुटवल १२ साउन ।
बुटवलमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखिकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा सोमबार संघमा आवद्ध उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रकृया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सेवा सुविधालगायतका विविध विषयमा जानकारी गराएका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई आईपर्ने संकटको सामना गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले साउथ एसियाको जिडिपिको आधारमा नेपालमा श्रमिकलाई दिईने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महंगी लगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुई बिचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भईरहेको बताए । उनले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीहरुको समेत हितमा रहेको बताउँदै यसलाई अझै बैज्ञानिक बनाउन आवश्यक रहेको बताए ।
संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई ठीक ठाउमा ल्याउन धेरै कुराहरु सुधार गर्नुपर्ने बताए । उनले साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा छोटो अवधि काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्ने, उद्योगी व्यवसायीलाई त्यसबाट कसरी लाभ दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिईनुपर्ने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाललगायत पदाधिकारी सदस्य तथा बस्तुगत समितिका सभापति उपसभापतिहरुको सहभागिता रहेको थियो ।