२०८२ श्रावण २८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन संघर्ष समिति
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २५, आईतवार १२:२८ गते

बुटवल २५ साउन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारलाई दबाब सिर्जना गर्न संघर्ष समिति गठन गरिएको छ। आइतबार सिद्धार्थनगर नगरपालिकामा सम्पन्न उद्योगी, व्यवसायी जनप्रतिनिधिहरूको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा दबाब दिन संघर्ष समिति गठन गरिएको सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँले बताए।
बैठकले नगरप्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो। संघर्ष समितिको सहसंयोजकमा नगर उपप्रमुख उमा अधिकारी तथा सदस्यहरूमा सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन्। अन्य सदस्यहरूमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली छन्।
समितिले कम्तीमा एक हप्तामा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्नेछ। यसपछि बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ। यसपछि सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरूलाई भेट गरी ध्यानाकर्षण गराइने बताइएको छ। त्यसपछि विमानस्थल नियमित सञ्चालनमा नआउँदासम्म निरन्तर दबाबका कार्यक्रम गरिने नगरप्रमुख खाँले बताए।
नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाहरूबिचको छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेरै जानुपर्ने निचोड निकालेपछि समिति गठन गरिएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए।
बैठकमा सहभागी उद्योगी–व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआए आगामी कात्तिक १७ मा हुने रुपन्देही– ३ को उपनिर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन्।
मुलुकका दुई ठुला दल कांग्रेस र एमालेको संयुक्त सरकार हुँदासमेत विमानस्थल नियमित सञ्चालनमा ध्यान नदिएको उनीहरूको गुनासो छ। नगरप्रमुख इश्तियाक अहमद खाँले नगरले नै नेतृत्व लिएर जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।