२०८२ भाद्र ७

राममणिको ‘क्याम्पस–समुदाय–सहकार्य’ कार्यक्रममा निःशुल्क दन्त शिविर
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २९, बिहीबार ०९:५९ गते

रुपन्देही २९ साउन ।
रुपन्देहीको तिलोत्तमा –१२ मोहनाजोत स्थित जनता मा.वि.भाठामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ‘क्याम्पस –समुदाय–सहकार्य’ कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिए ।
क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाई र विस्तारित समितिले आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर गरेको हो । शिविरमा २७२ जनाको निःशुल्क दन्त परीक्षण गरिएको क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईका संयोजक विन्दु आचार्यले जानकारी दिइन् ।
शिविर उद्घाटनमा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले संस्थाहरूको सहकार्यले भित्री बस्तीहरूसम्म निःशुल्क सेवा पु¥याउन सकिएको भन्दै यस किसिमका कार्यक्रमले समाजमा र मानिसको स्वास्थ्य जीवनमा सकरात्मक प्रभाव पार्ने बताएका थिए ।
कार्यक्रममा आधुनिक समाज डेण्टल प्रा.लि. बुटवलका सञ्चालक अमृत भुसाल, विद्यालयका अध्यक्ष विष्णुबहादुर बोहरा, प्रधानाध्यापक शालिकराम खनाल लगायतले कार्यक्रमको बारेमा चर्चा गरेका थिए । शिविरमा समाज डेण्टलका तर्फबाट डाक्टर रक्षा अर्याल, डाक्टर पूर्णिमा पाण्डे, डेण्टल हाइजिनिष्ट लक्ष्मी थापा, नवीन पराजुली, रमा पौडेललगायतले प्राविधिक सहयोग गरेका थिए ।
क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रम उपप्राध्यापकहरू नारायणप्रसाद भूसाल, भिमलाल घिमिरे, कार्यालय सहयोगी नारायण खराल लगायतको संयोजनमा सम्पन्न भएको थियो ।