२०८२ भाद्र ७

सुन तस्करी अभियोगमा एक भारतीय र एक नेपालीविरुद्ध मुद्दा दायर
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २, सोमबार १५:३० गते

२ करोड ६२ लाख बिगो दावी
बुटवल २ भदौ ।

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी ‍कसूरमा दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ । सुन तस्करीको अभियोगमा दुईजनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो । एक भारतीय र एक नेपालीविरुद्ध दुई करोड ६२ लाख बिगो दावी गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार राजस्व चुहावटसम्बन्धी ‍कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी मुद्दा दायर गरिएको हो । भारतको पंजाब अमृतशहरका कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा–१६ कोटीहवा बस्ने रामबहादुर बिकविरुद्ध मुद्दा दायर गरिएको हो ।  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम अभियोगपत्र दायर गरिएको घिमिरेले जनाएका छन् ।

प्रतिवादीहरुले सुनका गरगहनाको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागज प्रमाण नभएका भन्सार चोरी पैठारी गरेका सुनका गरगहनाहरुको कारोबार गरेको अभियोग छ । उनीहरूले भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको जनाइएको छ । प्रतिवादीहरू सिंह र बिकको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी बिगोसहित कारबाहीको माग गरिएको छ।

भन्सार चोरी पैठारीतर्फको मुख्य अभियुक्त सिंहको एक करोड पाँच लाख आठ हजार चार सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरी बिगो जफत गरी बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजायको माग दावी गरिएको छ । त्यस्तै,  मतियारको रुपमा बिकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ कायम गरी सजायर जरिवाना स्वरुप दुई करोड  ६२ लाख ७१ हजार २९ माग दाबी लिई रुपन्देही जिल्ला अदालत अभियोग पत्र दायर गरिएको छ ।