२०८२ भाद्र ७

निःशुल्क मुख परिक्षणका लागि महाअभियान शुरु
  • लुम्बिनी खोज
  • २०८२ भाद्र ४, बुधबार १३:२८ गते

बुटवल ४ भदौ ।
हजारौंको निःशुल्क मुख परिक्षण गर्ने गरी बुटवलमा महाअभियान शुरु भएको छ । विभिन्न संघसस्थाहरुले संयुक्त रुपमा बुधवारबाट अभियान शुरु गरेका हुन् ।
लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजना र बुटवल स्थीत आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोगमा भदौ ४ गते बुधवारदेखी सञ्चालन गरिएको महाअभियान असोज ५ गतेसम्म सञ्चालन हुनेछ ।
“ स्वस्थ मुख महाअभियानः स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा तय गरी महाअभियान गर्न लागिएको हो । “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् “ भन्ने मर्मका साथ महाअभियान संचालन गरिएको मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालले बताए ।
मुख स्वस्थ्यको महत्वसहित दात तथा मुख सफा गर्न सचेतना पुर्‍याउन महाअभियान शुरु गरिएको उनको भनाइ छ । बुधवार बिहान बुटवल प्रभातफेरीसहित महाअभियानको उद्धघाटन गरिएको थियो । प्रभातफेरी पश्चात पहिलो दिन दिनभर १० जना चिकित्सक सहित निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइएको थियो। भदौ ५ गते देखि असोज ५ गते सम्म दैनिक ३ जना दन्त चिकित्सक र अन्य प्राविधिक टिम सहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म आधुनिक समाज डेन्टलमा हरेक दिन निःशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाइने भुसालले जानकारी दिए ।
राजनीतिक दल, स्थानिय तहका प्रमुख तथा उप–प्रमुख, स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, जनप्रतिनिधि, युवा क्लबसहित विभिन्न संघसस्थाका ब्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । अभियानमा पहिलो चरणको १ महिनाको अवधिमा हजारौं जनालाई प्रत्यक्ष निशुल्क मुख परिक्षण सङ्गै स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइने लक्ष्य आयोजकले बनाएका छन् ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले क्लवहरुले सामाजिक क्रियाककलापहरु गर्दै आएको उल्लेख गर्दै मुख स्वस्थ्यलाई महत्व दिएर महाअभियान सञ्चालन गरिएको बताए ।