२०८२ भाद्र १६
बुटवल १४ भदौ ।
अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदानमा १२४ युनिट रगत सङ्कलन भएको छ ।
अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल र नेपाल नियमित रक्तदाता सङ्घ जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा शनिबार विद्यालय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए । विद्यालयका अनुसार रक्तदान कार्यक्रममा १२४ युनिट रगत सङ्कलन गरिएको थियो ।
मानव सेवा र समाजको प्रति उत्तरदायित्वको भावना अभिव्यक्त गर्दै, सहभागीहरूले रक्तदानलाई केवल दानको रूपमा मात्र होइन, सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा लिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी र नेपाल नियमित रक्तदाता सङ्घ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष सिल्वालले रक्तदानको महत्त्वबारे प्रकाश पारेका थिए । उनीहरूले रक्तदानलाई “जीवन बचाउने पुण्य कार्य” भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सामाजिक चेतना र सेवा भावको विकास गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमको संयोजन नारायण सापकोटाले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा सहभागी रक्तदाताहरूलाई स्वास्थ्य परीक्षण तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।