२०८२ भाद्र २१

लुम्बिनी प्रदेश राजधानी परिसरमा वृक्षारोपण
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २१, शनिबार ०७:२३ गते

बुटवल २१ भदौ ।
लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस २०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसर राप्ती उपत्यका (देउखुरी) मा वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवाहरू लगाइएको हो ।
वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेशको प्रशासनिक परिसरलाई पूर्णरूपमा हरियाली बनाउन यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले लगाइएका बिरुवालाई हुर्काउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

राजधानी प्रशासनिक परिसरलाई हरियालीमय बनाउन जरुरी रहेको भन्दै उनले वातावरणलाई सन्तुलन राख्न, अक्सिजन उत्पादन गर्न र सितलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय रहने बताए ।
प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपण गरिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने भन्दै रोपिएका बिरुवाले पछि फलान, फूलान, सितलता दिने तथा चराचुरुङ्गीले पनि वासस्थान पाउने बताए ।
वृक्षारोपण कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार प्रशासनिक परिसरभित्र सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहर, फलफूल प्रजातिका आँप, अम्बा र अमला रोपिएका छन् । यस्तै, अन्य महत्त्वपूर्ण रक्तचन्दन र सतिसाललगायतका बिरुवाहरू पनि लगाइएको छ ।