२०८२ भाद्र २८

बुटवल उवासंघद्वारा व्यवसायिक वातावरण निर्माणमा जोड
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २८, शनिबार १२:०९ गते

बुटवल २८ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले व्यवसायिक वातावरण निर्माणमा जोड दिएको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई ज्ञापन गर्दै संघले देशमा सुशासन, पारदर्शिता र सामाजिक न्याय कायम गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने संकल्प पूरा गर्ने कुरामा सफलता मिलोस भन्ने पनि कामना गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्धारा शनिबार जारी विज्ञप्तीमा जेन–जी आन्दोलनका क्रममा देखिएका असामाजिक गतिविधि, अराजकता, तोडफोड, हिंसात्मक गतिविधि र व्यवसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता समेत प्रकट गरेको छ । यस्ता गतिविधिले निजी तथा व्यवसायिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भन्दै संघले आगामी दिनमा यस्ता गतिविधि रोक्न आवश्यक नीति तथा सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
जेन–जीको शान्तिपूर्ण आन्दोलनमा अवान्छित, अराजक र ध्वँसकारीहरुको घुसपैठबाट अत्याधिक मात्रामा सामरिक, पुरातात्वीक, सार्वजनिक सम्पत्ति, व्यवसायिक पसल, कारखाना तथा पर्वाधार, निजी सम्पत्तिमा समेत भएको तोडफोड, आगजनी तथा लुटपाटले निजी क्षेत्रलाई भस्काएको छ भन्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा भनिएको छ–कोभिड–१९ पछिको आर्थिक मन्दीबाट संहालिन नपाउंदै, हालैको भौतिक संरचनामा भएको आगजनी, तोडफोड तथा लुटपाटले निजी क्षेत्रको मनोबल खस्केको अवस्था छ, यसप्रकारको निजी व्यवसायिक सम्पत्तिमाथिको आक्रमणले लगानीको वातावरणमा नकारात्मक प्रभाव परी अर्थतन्त्रमा थप क्षति पुगने निश्चत छ ।
संघले प्रभावित व्यवसायी तथा उद्योगीहरूको उचित क्षतिपूर्ति, सार्वजनिक सम्पत्तिको सुरक्षा, व्यवसायिक प्रतिष्ठानमा हुने आक्रमण रोकथाम, र बीमा कम्पनीमार्फत क्षतिपूर्ति प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।
व्यवसायी तथा उद्योगीहरूलाई आफ्नो व्यवसाय र उद्योग प्रतिष्ठान निर्वाध रुपमा सञ्चालन गर्दै व्यवसायिक वातावरण निर्माणमा सहयोग गर्न आह्वान गरिएको छ । संघले संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गर्न अपिल पनि गरेको छ ।