२०८२ कार्तिक १
लुम्बिनी २६ असोज ।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा नियमित गरेको छ ।
आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो ।
नेपालगन्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डलले सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएको हो ।
प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवाहरूलाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको थियो । सोहीअनुसार अत्यावश्यक सेवामध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको हो ।
यातायात व्यवस्था कार्यालयबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरू हुने गरेको छ ।