२०८२ आश्विन २८
बुटवल २७ असोज ।
बुटवलका उद्योगी व्यवसायीहरूले दिगो शान्ति र विकासका लागि राजनीतिक स्थायित्वमा जोड दिएका छन् । उनीहरूले लगानीको वातावरणका लागि शान्ति सुरक्षामा विशेष जोड दिएका छन् । राजनीतिक निकासका लागि तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरू सहभागी हुनुपर्ने धारणा समेत उनीहरूले राखेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको सोमबार सम्पन्न ७२औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उद्योगी व्यवसायीहरूले सधैँभरि भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको असुरक्षा समेत बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको मनोबल उठाउनेगरी सुरक्षाको वातावरण बन्नुपर्ने धारणा राखे । कोभिड–१९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले पुर्याएको क्षतिले निजी क्षेत्रलाई असर गर्दै आएको उनले चर्चा गरे । ऋणधन गरी लगानी गरेर देशमा रोजगारी सिर्जना गरेका उद्योगी व्यवसायीलाई आक्रमण गर्ने र लखेट्ने कामले देशको आर्थिक विकासमा असर पर्ने उनले बताए । तोडफोड, आगजनी तथा चोरी र लुटपाटमा संगग्नलाई कारवाही हुनुपर्ने पनि उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी तथा चोरी र लुटपाटका घटनाले निजी क्षेत्रको मनोबल गिराएको धारणा राखे । पछिल्लो समय उत्पन्न परिस्थितिलाई सहज बनाउँदै सरकारले घोषणा गरेको मितिमै चुनाव गराउने गरी तयार हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अहिले निजी क्षेत्रका लागि प्रतिकुल समय रहेको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे ।
बुटवल उवासंघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले औद्योगिक विकाससगै आर्थिक चलायमान बढाउनका लागि सोहीअनुसारको नीतिगत व्यवस्थासहित उद्योगी व्यवसायीलाई लगानीको सुरक्षा र भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि संघले गरेका पहल तथा प्रयासहरूको बारेमा जानकारी गराए । उनले यस क्षेत्रको औद्योगिक विकासका लागि मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा गति दिईनुपर्ने, व्यवसायिक विकासका लागि व्यवसायमैत्री वातावरण बन्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढेको बताए ।उपप्रमुख सावित्रादेवी अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको धारणा राखिन् ।
कार्यक्रममा सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, उद्योगी व्यवसायीहरूको तर्फबाट राज पौडेल, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
इलाका प्रशासन कार्यालयलाई कम्प्युटरसहितका उपकरण प्रदान
बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटरसहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्विल लक प्रदान गरेको छ ।
गत २३ र २४ भदौमा जेन–जी आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको इलाका प्रशासन कार्यालय बुटवललाई संघले एक थान डेस्कटप कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्क्यानर र १६ थान सिसिटिभी क्यामेरा प्रदान गरेको हो ।
त्यसैगरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउनको लागि संघले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई पाँच थान ह्वील लक प्रदान गरेको हो । उक्त सामाग्रि संघको ७२ औं वार्षिक साधारण सभामा संघका अध्यक्ष हरिप्रसाद अर्याल र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनीधिलाई हस्तान्तरण गरे ।