२०८२ आश्विन २८

बुटवलमा बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ आश्विन २७, सोमबार १५:४९ गते

बुटवल २७ असोज ।
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियान बुधबारदेखि बुटवलमा शुभारम्भ हुने भएको छ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा बुधबारदेखि यो अभियान सुरु गर्न लागिएको कार्यालय प्रमुख डा. कलावती विश्वकर्माले जानकारी दिइन् । यस अभियानबाट हजारौं बालबालिका लाभान्वित हुने भएका छन् ।

स्वर्णबिन्दु प्राशन कार्यक्रमसम्बन्धी सोमबार सम्पन्न अभिमुखिकरणमा कार्यालय प्रमुख विश्वकर्माले केन्द्र र प्रदेश सरकारले बालबालिकाका लागि सुरु गरेको नयाँ अभियान भएकाले आवश्यक छलफल र आबश्यक तयारी गरेर ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गर्न लागिएको बताइन् । ‘यही २९ असोजदेखि हुन लागेको ‘स्वर्ण प्राशन’ अभियानका लागि आवश्यक तयारी अन्तिम चरण पुगेको छ,’ उनले भनिन् । यो अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन लागिएको हो । स्वर्ण प्राशन थोपा बिहान ६ बजेदेखि १० बजेसम्म खुवाइने कार्यालय प्रमुख विश्वकर्माले बताइन् । तोकिएको उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन समयमै ल्याउन उनले सबैलाई आह्वानन गरिन् ।

अभिमुखिकरणमा दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा. अर्जुनराज शर्माले बाल बालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने बताए । ‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरूको भनाइ छ ।

बालरोग विशेषज्ञ डा. अर्जुनराज शर्माका अनुसार ‘स्वर्णविन्दु प्राशन’ पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा वर्णन गरिएको परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा. शर्माले जानकारी दिए । ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने उनले बताए ।

६ महिनामुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकाले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने डा. शर्माले बताए । यस्तै, बालबालिकालाई स्वर्ण प्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्या लगायतका समस्या देखिए अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन पनि डा. शर्माले सुझाव दिए ।

कार्यक्रममा लुम्बिनी आयुर्वेद चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटा, आयुर्वेद चिकित्सक योगेश ढकाललगायतले स्वर्ण प्राशन केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका कविराज निरीक्षक यमलाल भुसालले स्वस्थ जनशक्ति उत्पादनका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । साथै, उनले यो अभियान सञ्चालनका लागि बुटवल उपमहानगरले आयुर्वेद चिकित्सालयसँग सहकार्यगरी अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।