२०८२ कार्तिक २

कपिलवस्तुमा कुष्ठरोग नियन्त्रणमा चुनौती
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक १, शनिबार ०९:३५ गते

कपिलवस्तु १ कात्तिक ।
कपिलवस्तुमा कुष्ठरोगका बिरामी संख्या बढ्दो क्रममा रहेको छ। कपिलवस्तु जिल्लामा १३ वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । रोग शून्यमा झार्ने अभियान वर्षौंदेखि चलिरहँदा पनि कपिलवस्तुमा कुष्ठरोगीको संख्या घट्नुको साटो बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले यसलाई गम्भीर चुनौतीका रूपमा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ निरीक्षक मोहम्मद इरफानका अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा प्रति १० हजार जनसंख्यामा १.८ को दरले एक सय २८ नयाँ कुष्ठरोगी फेला परेका छन्। यो दर राष्ट्रिय औसत ०.८८ भन्दा दोब्बर हो

गत वर्ष मात्रै ७५ पुरुष र ५३ महिला गरी एक सय २८ जना बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७९। ८० मा २.१ प्रतिशतका दरले एक सय ६७ जना नयाँ बिरामी भेटिएको र जसमा १४ वर्ष मुनिका ४ बालबालिका र ४ जना अपांगता भएको बताएको छ । यस्तै २०७८।७९ मा १.८ प्रतिशतका दरले एक सय २३ जना र २०७७।७८ मा १.९ प्रतिशतका दरले एक सय २८ जना नयाँ कुष्ठरोगी फेला परेको बताएको छ ।
जिल्लाबाट १३ वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि पछिल्ला नौ वर्षदेखि बिरामी संख्या बढ्दो क्रममा रहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार अशिक्षा,जनचेतनाको अभाव र भारतसँगको खुला सीमाका कारण ओहोरदोहोर बढ्दा रोग नियन्त्रण कठिन बनेको बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार भारतसँगको खुला सिमाना र समाजमा कुष्ठरोगप्रति रहेको डर तथा लान्छना रोग नियन्त्रणका प्रमुख चुनौती हुन्।