२०८२ कार्तिक ३
बुटवल २ कात्तिक ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सुविधा सञ्चालनमा आएको छ । अस्पतालमा यो सेवा सञ्चालनमा आएसँगै अब ब्रेन स्टोक, ब्रेन ट्यूमर तथा विभिन्न स्नायू रोगहरुको उपचार र निदानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड र तिनीहरुसँग सम्बन्धित रक्तनलीहरुमा हुने समस्याको औषधि र सर्जरी बीचको आधुनिक उपचार प्रविधि हो । उक्त प्रविधि अनुसार प्रादेशिक अस्पतालमा न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वामा शनिबार दुई जना बिरामीको एन्युरिज्मको डीएसए उपचार सफल भएको छ । यो सफलताले उपचार सेवामा थप उत्साह पैदा भएको डा. भण्डारीले प्रतिक्रिया दिए । उपचारका लागि सहभागी तथा सहयोग गर्नेमा डा. करुणा ताम्राकार, डा. स्मृति आचार्य, डा. सन्तोष भट्टराई र डा. मनिष पराजुलीसहित नर्सहरु, क्याथल्याव स्टाफ, आइसियू टिम, एनेस्थेसिया टिम खटिएको थियो । त्यस्तै अस्पताल प्रशासानको समेत ठूलो भूमिका रहेको डाक्टरहरुको टिमले जनाएको छ ।
यो प्रविधि अन्तरगत रगतको नलीमार्फत रोगग्रस्त भागसम्म पुगेर समस्याको समाधान गरिन्छ । विशेष गरी मस्तिष्कको रक्तनली फुट्ने, स्ट्रोक अर्थात मस्तिष्कको नली अवरुद्ध हुने, क्यारोटिड आर्टरीमा ब्लकेज, इंट्राक्रानियल हेमोरेज, रगत आपूर्तिबाट निर्भर ट्यूमर लगायतका समस्या समाधानका लागि यो उपचार पद्धतीको प्रयोग गरिने डा. भण्डारीले जानकारी दिए । यसरी यो प्रविधिको प्रयोगबाट फुट्न लागेको वा फुटेको रक्तनलीमा सानो धातुको तार राख्ने, अवरुद्ध धमनी खुलाउने, स्ट्रोकमा जमेको रगत निकाल्ने तथा असामान्य रक्तनली बन्द गरिने उनले बताए । यो प्रविधि शल्यक्रियाको तुलनामा कम जोखिमपूर्ण हुुनुका साथै बिरामी छिटो निको हुने तथा रक्तस्राव र संक्रमणको कम जोखिम रहने चिकित्सकहरु बताउछन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्दै लैजाने क्रममा प्राप्त एकपछि अर्को सफलताले अस्पताल परिवार तथा सेवाग्राहीलाई समेत खुसी तुल्याएको बताए । अस्पतालको सेवा विस्तार तथा विशिष्टिकृत गर्ने क्रममा विभिन्न प्रविधिहरुको जडान, उपयोग र सोही अनुसार जनशक्ति परिचालनलाई आफूले जोड दिएको डा. ढकालले बताए ।