२०८२ कार्तिक १९
बुटवल १८ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै उनले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन निर्देशन दिए । मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालहरूको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसहरूमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भीड बढाएको छ । सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ । यसमा स्वास्थ्य मन्त्री र सचिवले विशेष निगरानी बढाउनुपर्छ ।
मुख्यमन्त्री आचार्यले रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । सकेसम्म आयुर्वेद र प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्ने भन्दै उनले प्राकृतिक उपचारबाट रोगको स्थायी समाधान गर्न सकिन्छ । अब दीर्घकालीन रूपमा समाधानका उपायमा जोड दिन जरुरी छ ।कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुको पनि विशेष उपस्थीति रहेको थियो ।
कार्यक्रममा प्रमुख सचिव बावुराम अधिकारीले आधारभूत र विशेष स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुपर्ने बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नतिजा केन्द्रित योजना निर्माण र दोस्रो आवधिक योजनाले प्राथमिकतामा राखेका क्षेत्रहरूको कार्यान्वयनमा जोड दिए । कार्यक्रममा जनस्वास्थ्य प्रशासक उमेश गौतमले एक वर्षे कार्यक्रमहरूको प्रस्तुति दिँदै आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्न सके धेरै नागरिकलाई स्वस्थ बनाउन सकिने बताए ।
स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले सूचकहरूमा सुधार देखिन थालेको तथ्यांकसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।