२०८२ कार्तिक २०
बुटवल १९ कात्तिक ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको तयारीमा सरकार नलागेको आरोप लगाउँदै मुलुकका लागि उपयुक्त बाटो संसद् पुनर्स्थापना नै भएको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा पौडेलले निर्वाचन तयारीका लागि मतदाता नामावली संकलनसँगै अन्य काम अगाडि बढाउनुपर्नेमा निर्वाचनको वातावरण बनाउने गरी काम नभएको भन्दै उपयुक्त निकास संसद् पुनर्स्थापना नै भएको जिकिर गरेका हुन् ।
निर्वाचन भए निर्वाचनबाट एमाले नभाग्ने पनि पौडेलले स्पष्ट पारे । ‘निर्वाचनबाट एमाले भाग्दैन, जनताको परीक्षामा फेरि पनि उत्तीर्ण भएर आउँछौँ। एमाले फेरि पनि निर्वाचित भएर आउँछ,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा भूमिका खेल्छौँ ।’
संसद् पुनर्स्थापना गरेर संवैधानिक बाटोबाट संविधान संशोधन गर्ने र नयाँ सरकार बनाएर ताजा जनादेशका लागि निर्वाचनमा जानु उपयुक्त हुने उनको तर्क छ ।
पार्टीको राष्ट्रिय महाधिवेशनका बारेमा उपाध्यक्ष पौडेलले लोकतान्त्रिक ढंगले महाधिवेशन सम्पन्न हुने बताए। चामत्कारिक रूपमा एकताका साथ महाधिवेशन सम्पन्न हुने भन्दै उनले नेतृत्वको निर्माण पनि सहमतिका साथ टुंगिने विश्वास व्यक्त गरे। कम्तीमा पनि पदाधिकारीमा सहमतिका साथ नेतृत्व चयन हुने भन्दै उनले केन्द्रीय सदस्यमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताए । एमाले नेता पौडेलले आफ्ना कामका बारेमा समिक्षा गर्न र सुझाव दिन अनुरोध गर्दै सधै जनताका पक्षमा समर्पित रहने बताए ।