२०८२ कार्तिक २४
बुटवल २३ कात्तिक ।
रुपन्देहीमा प्रहरीले २३ लाख रुपैयाँ बराबरका अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बरामद सामानहरूमा मदिरादेखि मोबाइलका डिस्प्लेसम्म रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले २१ र २२ कार्तिकमा जिल्लाका बिभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी २२ लाख ८८ हजार २२८ रुपैयाँ बराबरका सामान आइतबार आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ऊलन लेडिज कुर्ता ८० पिस, बच्चाको मोजा चार पोका ४८ जोर, बच्चाको टोपी १० पिस, बच्चाको टाउजर सेट १५ जोर, बच्चाको हुडी २४ सेट, जेन्स मोजा ३२ जोर बरामद गरेको छ । यी सामानको मुल्य एक लाख २५ हजार आठ सय अनुमान गरिएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–३ शंखनगर भारतीय नम्वर प्लेटको कार पछाडी सिट मुनी लुकाइछिपाइ बिल बिजक नभएको विभिन्न सामानहरु बरामद गरेको छ । प्रहरीका अनुसार ती सामान कारसहित अन्दाजी १८ लाख ४० हजार २२८ रहेको छ । यहाँ बरामद सामानहरूमा ल्यापटप, पहेँलो रङको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मुर्ति पाँच थान, विभिन्न नामका मदिराका ९ बोतल, विभिन्न मोबाईलका डिस्प्लेका प्याकेटहरुलगायत छन् ।
प्रहरी चौकी शिबपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले मायादेबी गाँउपालिका–५ गोनाहाबाट लु२२प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट ६० पिस, उनको सल १० पिस, चार रोल काँचो कपडा, लेडिज बाक्लो उलन सुट १२ पिस, काचो कपडा ३६ मिटर बरामद गरेको छ । यी सामानको मुल्य अन्दाजी तीन लाख २२ हजार दुई सय रहेको प्रहरीले जनाएको छ ।