२०८२ कार्तिक २९

अवैध कारोबार रोक्नुपर्ने देखि ब्यवसायी सुरक्षामा ध्यान दिन माग
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २८, शुक्रबार १२:४३ गते

बुटवल, २८ कार्तिक ।
रुपन्देहीका ब्यवसायीहरुले खुल्ला सिमाबाट हुने अबैध कारोवार रोक्न तथा ब्यवसायीक सुरक्षामा चासो बढाउन माग गरेका छन् । रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा शुक्रबार आयोजित कार्यक्रममा शान्ति सुरक्षाको सवाल देखि ब्यवसायी हितका लागि राज्यले चाल्नुपर्ने कदमका बारेमा विभिन्न धारणा राखेका छन् । उद्योगी ब्यवसायी मैत्री नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिदै उनीहरुले आर्थिक क्षेत्रको विकासका लागि शान्ति सुरक्षाको प्रवन्ध राम्रो गर्नुपर्ने बताए ।
अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले मुलुकमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुनसके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने धारणा राखे ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले हरेक हिसाबले केन्द्र भागमा रहेको बुटवललाई आर्थिक तथा साँस्कृतिक केन्द्रका रुपमा विकास गर्न सबैको चासो बढ्नुपर्ने बताए । पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीमा छाएको निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उज्यालो बुटवल अभियानलाई सार्थक बनाउन हाइमास्ट लाईट जडानलाई प्राथमिकतामा राखेको बताए । उनले बुटवललाई सफासुग्घर, हरियाली र सुन्दर बनाउन सबैले सहकार्य गर्न जरुरी रहेको बताए । नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गरिन् । संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघ स्थापनाको अबस्थालाई स्मरण गर्दै उनले संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहाँसम्म ल्याइपु¥याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने पनि बताए ।
संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले राज्यले ब्यवसायीलाई हेर्ने दृष्टिकोण सकरात्मक हुनुपर्नेमा जोड दिदै उद्योगी ब्यवसायी मैत्री नीति लागु गर्नुपर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सिमानाकाबाट अबैध रुपमा कर छलिका सामान भित्रीदा यहाँका उद्योगी व्यवसायी समस्यामा रहेको धारणा राखे ।
कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्सुराम पन्तले पनि आर्थिक क्षेत्रका बारेमा बोलेका थिए ।