२०८२ मंसिर २०
बुटवल १९ मंसिर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलस्थित तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । पुल निर्माणका लागि शुक्रबार ठेक्का आह्वान गरिएको छ ।
पश्चिम नेपालको मुख्य व्यापारिक नाका बुटवलको आकर्षण बढाउने गरी आकर्षक डिजाइनमा पुल बनाउन लागिएको हो । हाल पूर्व–पश्चिम राजमार्गको बुटवल –गोरुसिंगे–चन्द्रौटा सडकखण्ड विस्तारको काम जारी रहेको अवस्थामा पुलको काम पनि अगाडि बढाउन लागिएको हो ।
चालू आर्थिक वर्ष ०८२र८३ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले तिनाउ र नारायणी नदीमा सिग्नेचर पुल निर्माण गर्ने उल्लेख गरेका थिए । बुटवल पौडेलको निर्वाचन क्षेत्र पनि हो । उनले बुटवलको चौतर्फी विकासका योजना अगाडि बढाउने क्रममा पुलको योजना पनि अगाडि बढाएको बताउँदै आएका छन् ।
सडक विभागले शुक्रबार तिनाउमा सिग्नेचर पुल निर्माण प्रयोजनका लागि बोलपत्र आह्वान गरेको र अब कामले गति लिने सडक विभागले जनाएको छ । सडक विभागले ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा यो पुलको ठेक्का दिन लागेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए । सिग्नेचर पुल बुटवलको पर्यटन विकासमा मद्दत मिल्ने गरी कलात्मक र आकर्षक बन्ने गरी डिजाइनको काम हुनेछ । ‘सुपर स्ट्रक्चर रूपमा बजार क्षेत्र, बुटवलको सुन्दरता, तिनाउ नदी सबै कुरालाई हेरेर अलि आकर्षक नै बन्छ,’ सिनियर डिभिजन इन्जिनियर पौडेलले भने ।
पुल भएकै स्थानमा उत्तर र दक्षिणतर्फ दुई–दुई लेनका पुल बन्ने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा हाल भएको पुलकै दुवैछेउमा नयाँ पुल बनाउने गरी योजना अगाडि बढाइएको छ । पुलको उत्तरतिर र दक्षिणतिर दुवैतिर, दुई–दुई लेनको दुइटा पुल बन्नेछन् । यी दुवै नयाँ बन्ने पुलहरू दुई–दुई लेन र फुटपाथसहितका हुनेछन् । पुलको जम्मा लम्बाइ २४० मिटर हुनेछ ।
शुक्रबार ठेक्का आह्वान भएको यो पुल निर्माणका लागि करिब दुई महिना निर्माण कम्पनीले आएर योजना पेस गर्ने समय छ । अनि दुई महिनामा प्रपोजल पेस भएपछि मूल्यांकनको काम हुनेछ । मूल्यांकन निर्माण कम्पनीको प्राविधिक र आर्थिक दुवै पक्षको हुने र यसमा प्राविधिक र आर्थिक रूपमा सबभन्दा बढी अंक जसले प्राप्त गर्छ त्यस निर्माण कम्पनीसँग सम्झौता हुने सिनियर डिभिजन इन्जिनियर पौडेलले बताए । डिजाइन एन्ड बिल्ड मेथडको ठेक्का भएकाले यसमा छानिएको कन्ट्र्याक्टरले नै आफ्नो डिजाइन पेस गर्ने सडक विभागको रिक्वायरमेन्टअनुसार उसले निर्माणको पनि जिम्मा लिने पौडेलको भनाइ छ ।
निर्माणको अवधि सम्झौता मितिपश्चात् तीन वर्षको छ भने सम्झौता गरेको सात महिनाभित्र निर्माण कम्पनीले डिजाइन पेस गरिसक्नुपर्ने हुन्छ । त्यसपछिको बाँकी समयभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । यसको बजेट करिब साढे दुई अर्ब रहेको छ ।
यस पुलको निर्माण गर्दा घर–टहराहरू भत्काउनुपर्ने अवस्था नभए पनि पुलको मुनितिर सानोतिनो घर–टहराहरू पछि योजना कार्यान्वयन गर्दा स्थानीय निकायसँग समन्वय गरेर काम अगाडि बढाउने योजना रहेको पनि सिनियर डिभिजन इन्जिनियर पौडेलले बताए । अहिलेको पुल यथावत् नै राखेर त्यससँगै टाँसेर उत्तरतिर एउटा र दक्षिणतिर अर्को पुल बन्ने गरी योजना अगाडि बढाइएको छ ।
अहिलेसम्म पुरानो पुल हटाउने योजना नरहेकाले नयाँ पुल तयार भएपछि बाटो ६ लेनको हुनेछ । पुरानो पुललाई मर्मत गरेर नै चलाउने भएकाले नयाँ पुल बनिसकेपछि गाडीहरू डाइभर्ट गर्न सजिलो हुने भएकाले भत्काउने योजना तत्काल नबनाइएको सडक विभागका इन्जिनियरहरू बताउछन् ।