२०८२ पुष ४
बुटवल,२७ मंसिर ।
रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा प्रविधि र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । स्वदेशी उद्योगको प्रवद्र्धनका साथै प्रविधि, कृषि र पर्यटनका अलग अलग पेभेलियन बनाएर यसको विशेष योजना बनाइएको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।
यसको उपसमिति नै बनाएर यो क्षेत्रका उद्यमीहरुलाई समेट्न खोजिएको उपाध्यक्ष युवराज आचार्य बताए । यसअघि पर्यटन व्यवसायीसँगको सहकार्यमा प्रदर्शनी अवधि भर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्नेगरी योजना बनेको र यससँगै प्रविधि, कृषि क्षेत्रलाई पनि उस्तैगरी प्रभावकारी बनाउने योजना बनाइएको प्रदर्शनी प्रबन्धक यादव भण्डारी बताए ।
प्रदर्शनीका सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १ सय १ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २ सय ५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर तयारी अन्तिम चरणमा पुराइएको छ । निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै स्थान दिइने संघले बताएको छ ।
अहिले स्टल निर्माणको काम धमाधम भइरहेको सहकोषाध्यक्ष राजु घिमिरेले बताए । ‘बाहिरी तयारी सबै सकिएको छ, स्टल दर्ता पनि अधिकांश सकिएको छ, अब बाल उद्दानको काम पनि भइरहेको छ, भित्र स्टल निर्माणको काम धमाधम भइरहेको छ’ उनले भने ।
प्रचार समिति संयोजक इं किरण खरेलले स्थानीय तथा वरिपरीका क्षेत्रमा प्रचारको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।