२०८२ पुष ७

पोषण कार्यक्रमले स्वास्थ्य र आम्दानी दुबै बदलिँदै ..
  • लुम्बिनी खोज
  • २०८२ पुष ६, आईतवार १४:३३ गते

डिलाराम भुसाल

कपिलवस्तु, ६ पुस ।
कपिलवस्तु जिल्लामा कुपोषणलाई जरोसहित उखेल्ने लक्ष्यसहित सञ्चालन गरिएको पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रमले समुदायस्तरमै ठोस परिवर्तन देखाउन थालेको छ ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र, हेलेन केयर इन्टरनेसनल–भिटामिन एन्जल्स र आई डि ई नेपालको साझेदारीमा सञ्चालित यस कार्यक्रमले कुपोषित बालबालिकाको स्वास्थ्य सुधार मात्र होइन, परिवारको जीवनस्तर र आम्दानी बढाउन समेत उल्लेखनीय भूमिका खेलेको बताएको छ ।
नर्सरी ग्रोवर, गँड्यौला मल उत्पादन पिट, कृषि तथा सरसफाइ सामग्री वितरण, थोपा सिँचाइ प्रविधि जस्ता कार्यक्रमले समुदायमा प्रभावकारी परिणाम दिएको संस्थाले जनाएको छ ।

मायादेवी गाउँपालिका–१ की कुपोषित बालिका लक्ष्मी पासी संस्थाको पोषण परामर्श, अर्गानिक खेती र प्राविधिक सहयोगपछि स्वास्थ्यमा सुधार आएको छ । यस्तै यशोधरा गाउँपालिका–५ का अमन अहमदको नियमित खानपान र निरन्तर सहयोगले स्वास्थ्य अवस्था उल्लेखनीय रूपमा सुधार भएको परिवारले बताएका छन ।
कार्यक्रमले महिलालाई समेत सशक्त बनाएको छ । सोही वडाकी पूजा यादवले परम्परागत खेती छोडेर थोपा सिँचाइ प्रविधि अपनाएपछि घरायसी उत्पादन र आम्दानी दुवै बढेको बताइन्।् ।
हाल विजयनगर, शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिकाका ८ वडामा कार्यक्रम सञ्चालनमारहेको बताएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका र १ हजार दिनका महिलालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत २१ नर्सरी, ५ प्रदर्शनी फार्म, ७५ घरपरिवारलाई पोल्ट्री सामग्री वितरण गरिएको छ ।
साथै, कडा तथा मध्यम शीघ्र कुपोषणमा परेका ८ सय ४८ घरपरिवारलाई स्टिल फिल्टर र करिब १ हजार १ सय घरपरिवारलाई भर्मी कम्पोष्ट मल सहयोग गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रम ६ महिनादेखि ५९ महिनाको बालबालिक र १ हजार दिनका महिलामा पोषण मार्फत जीवन रूपान्तरण ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन ल्यार्ईएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कृषि तथा पोषण प्राविधिक संयोजक आकास पौडेलले बताएका छन् । पोषण, स्वास्थ्य र कृषिलाई एकसाथ जोडेर गरिएको यो कार्यक्रमले कपिलवस्तुमा कुपोषणविरुद्ध आशा जगाएको स्थानीयवासीहरूको विश्वास छ ।